गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै, फणिन्द्र देवकोटा निर्णायक
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन्।
प्रदेशसभा सचिवालयको कार्यसूची अनुसार अपरान्ह ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची छ।
१६ जेठमा मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन्।
संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका पाण्डेलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।
६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन्।
पाण्डे यसअघि ०८० वैशाख १४ मा पनि मुख्यमन्त्री बनेका थिए। यो उनको दोश्रो कार्यकाल हो। तत्कालीन सत्ता गठबन्धनमा हेरफेर आएपछि पाण्डेले गएको २१ फागुनमा राजीनामा दिएका थिए।
उनीपछि वर्तमान केन्द्रीय सत्ता गठबन्धनबाट एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। तर, संविधानबमोजिम प्रदेशसभामा बहुमत पुर्याउन नसकेपछि प्रदेशसभामा उपस्थितको बहुमतको आधारमा भन्दै सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए।
त्यसको विरोधमा पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अदातलले १४ जेठमा मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत बदर गरेको थियो भने अदालतले संविधानको धारा १६८ (३) बमोजिमको सरकार गठनका लागि आदेश गरेको थियो । सोही आदेशबमोजिम पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए।
प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गर्न थप ४ सांसदको समर्थन जुटाउनुपर्छ। गण्डकीमा एमाले र माओवादीबाहेक नेपाल समाजवादी पार्टीका १, राप्रपाका २ र स्वतन्त्र सांसद् दिपक मनाङे छन्।
समाजवादी पार्टीका सांसद् फणिन्द्र देवकोटाले निर्वाचनमा माओवादी केन्द्रकै चुनाव चिन्ह प्रयोग गरेकाले उनी माओवादी केन्द्र अन्तर्गतकै सांसद् मानिन्छन्। प्रदेश सभाले उनलाई नेपाल समाजवादी पार्टीका सांसद्को रूपमा मान्दैन। देवकोटाले विश्वासको मत दिए उनलाई माओवादी केन्द्रले कारबाही गर्नसक्ने सम्भावना पनि देखिन्छ।
जेठ २८, २०८१ सोमबार १०:५३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।