त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ।

नागरिक उड्ययन प्राधिकरणले एक सूचना निकालेर विमानस्थल संकटकालीन योजनाअनुसार गरिने विभिन्न अभ्यासहरूमध्ये एयरक्राफ्ट एसिडेन्ट इन एयरपोर्टको पूर्णकालीन अभ्यासका कारण दिउँसो १ बजेदेखि आधा घण्टाका लागि विमानस्थल बन्द हुन लागेको जनाएको छ।

उक्त अवधिमा विमानस्थलको अपरेशन बन्द हुने भएकोले नियमित उडान/अवतरण प्रभावित हुने सूचनामा उल्लेख छ।

यो अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरूबीच सहयोगको अभिवृद्धि गराउने तथा सहभागि निकायहरूले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्वद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

प्राधिकरणका अनुसार अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको पनि देख्न सकिने छ।

यो विमानस्थल संकटकालीन योजनाको अभ्यास गर्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा यस विमानस्थलको आकस्मिक योजनाअनुसार गरिने योजनाबद्ध अभ्यास भएको सूचनामा उल्लेख छ।

जेठ २८, २०८१ सोमबार ०९:१७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।