मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं : आज काठमाडौं उपत्यकासहित कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
जसकारण अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली भई कोशीका एक-दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
बेलुका कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
जेठ २८, २०८१ सोमबार ०७:१३:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।