सुन तस्करीको रकम भुक्तानीमा जोडिएको भन्दै दुई डिजिटल वालेटका ६ कर्मचारी पक्राउ, अन्य वालेटको कारोबार निगरानीमा

सुन तस्करीको रकम भुक्तानीमा जोडिएको भन्दै दुई डिजिटल वालेटका ६ कर्मचारी पक्राउ, अन्य वालेटको कारोबार निगरानीमा

काठमाडौँ :  सुन तस्करीको रकम भुक्तानी र हुन्डीमा संलग्न देखिएको भन्दै नेपाल राष्ट्र बैङ्कले बैक खाता रोक्का गरेको दुई भुक्तानी सेवा प्रदायक ‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारी पक्राउ परेका छन्।

सुन तस्करीको दोस्रो चरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध हुन्डी र सुन, क्रिप्टोको अवैध कारोबारमा संलग्न रहेको आरोपमा दुवै कम्पनीका ६ जनालाई पक्राउ गरेको हो।

ब्युरोका अनुसार प्रज्वल आचार्य, भीमप्रसाद तिमल्सिना, सुशील बन्जारा, काश्यप मानन्धर, सुरज जबरा  र अथुकछाक खम्पा पक्राउ परेकोमा स्वास्थ्य अवस्था बिग्रिएपछि खम्पा भने अस्पताल भर्ना भएका छन्।

ब्युरोले छ जनालाई नै सुन तस्करीमा संलग्न रहेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा पेस गरेर ६ दिन न्यायिक हिरासतमा राख्ने अनुमति लिइसकेको छ।

यी दुवै कम्पनीले राष्ट्र बैङ्कबाट डिजिटल वालेटको मान्यता लिएर कारोबार गर्दै आएका थिए। सुन तस्करीको दोस्रो चरणको अनुसन्धानकोक्रममा पक्राउ परेकाहरूबाट तस्करीको भुक्तानीमा यी दुवै डिजिटल वालेटको प्रयोग हुने गरेको र भुक्तानीमा क्रिप्टोको समेत प्रयोग हुने खुलेपछि प्रहरीले यसबारे राष्ट्र बैङ्कलाई जानकारी गराएको थियो।

सिआइबीको पत्र पाए लगत्तै राष्ट्र बैङ्कले जेठ २१ मा यी दुवै कम्पनीको सबै बैङ्क खाताहरू रोक्का राखेको सार्वजनिक सूचना निकालेको थियो। प्रारम्भिक अनुसन्धानमा अवैध भुक्तानीमा ६ जनाको संलग्नता देखिएपछि ब्युरोले आइतबार पक्राउ गरेको थियो।

जेठ २७, २०८१ आइतबार २२:१४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।