सन्दीपको पक्षमा खुल्दै खेलकुद महासंघले माग्यो क्यान अध्यक्ष चन्दको राजीनामा
काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)मा आर्थिक अपचलन मौलाएको र क्रिकेटर सन्दीप लामिछानेमाथि भएका राजनीतिको कारण अन्तर्राष्ट्रिय जगतमै बेइज्जत भएको भन्दै नेपाल खेलकुद महासंघले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेको छ।
काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै महासंघले सन् २०१४ मा क्यानको अराजकताका कारण नेपाल आइसिसीको निलम्बनमा परेको स्मरण गर्दै अहिले पनि नेपाली क्रिकेट त्यही अवस्थामा पुगेको दाबी गरेको छ।
विगतमा झैँ नेपाली क्रिकेटले पुनः प्रतिबन्धको मार झेल्नु नपरोस् भन्ने चिन्ता र चासो रहेको समेत महासंघ पदाधिकारीको भनाइ छ।
‘सन्दीप लामिछाने नेपालका सर्वोत्कृष्ट खेलाडी हुँदाहुँदै उच्च अदालत, पाटनबाट सफाइ पाइसकेको अवस्था र नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरिसकेको अवस्थामा के कारण उनी नेपालको १५ सदस्यीय टोलीमा अटाउन सकेनन्? यसको अविलम्ब छानबिन होस् र उनलाई टिममा समावेश नगराउन प्रमुख भूमिका खेल्ने क्यान पदाधिकारीलाई कडाभन्दा कडा कारबाही होस्,’ विज्ञप्तिमा भनिएको छ।
क्यान अध्यक्ष चन्दले मुलुककै बेइज्जत गरेको महासङ्घको आरोप छ।
विज्ञप्तिमा क्यान अध्यक्ष चन्द अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाललाई विश्वकपको लागी प्रदान गर्ने १५ खेलाडी र १० ‘सपोर्टिङ स्टाफ’मध्ये प्रशिक्षण समयदेखि अनिवार्य रूपमा हुनुपर्ने टिम डाक्टरलाई टिममा नराखी आफू श्रीमतीसहित अमेरिका गएको उल्लेख छ।
आइसिसीले टिम डाक्टर अनिवार्य टिममा हुनुपर्ने र अध्यक्ष भएर ’सपोर्टिङ स्टाफ’ को ‘कोटा’ मा आउन नमिल्ने भनेपछि चन्दको नाम सूचीबाट हटाएर डाक्टरको नाम समावेश गरेको उल्लेख गर्दै महासंघले विज्ञप्तिमा यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको बेइज्जत भएको उल्लेख छ।
क्यान अध्यक्ष चन्दलाई तुरुन्त नेपाल फर्काएर कारबाही गर्न खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग महासंघले माग समेत गरेको छ।
क्यान अपारदर्शी रहेको, पदाधिकारी अमेरिकामा जर्सी बेच्ने कार्यमा संलग्न रहेको, क्यानले विश्वकपका लागि उठाएको भनिएको चन्दा बैङ्क खातामा दाखिला नभएको, लेटर प्याडको दुरुपयोग गरेको भन्दै महासंघले आवश्यक अनुसन्धान गरी दोषीलाई यथाशीघ्र कारबाही गर्न माग गरेको छ।
जेठ २७, २०८१ आइतबार १८:५५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।