ओलीलाई घनश्यामले भने- 'पार्टी जोगाउन संसद् विघटन गर्नुपर्ने विषय समाजवादी आन्दोलनकै विरोधाभाष'

ओलीलाई घनश्यामले भने- 'पार्टी जोगाउन संसद् विघटन गर्नुपर्ने विषय समाजवादी आन्दोलनकै विरोधाभाष'

काठमाडौं : एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले समाजवादी संगठनको गम्भीर भएर छलफल गर्ने समय आएको बताएका छन्। पार्टी जोगाउन संसद् विघटन गर्नुपर्ने विषय समाजवादी आन्दोलनकै विरोधाभाष भएको उनको भनाइ छ। 

आइतबार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री पद जोगाउन पार्टी फुटाउनुपर्ने र गुट जन्माउने प्रवृत्ति पनि विरोधाभासपूर्ण रहेको धारणा राखेका हुन्। 

उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी जोगाउन संसद् विघटन गरिएको भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गरे। 

भुसालले भने, ‘एकजना कम्युनिस्ट पार्टीको नेताले एउटा वक्तव्य दिनुभयो, संसद् विघटनको। नेकपा (एमाले) जोगाउनका लागि संसद्को विघटन गर्नुपर्ने थियो भन्नुभयो उहाँले। जनताले लडेर ल्याएको हक, अधिकार संस्थागत गरिएका संविधानमाथि आक्रमण गर्नका लागि संसद् विघटन गरेर पनि जाग्नुपर्ने भयो।’

पार्टी जोगाउन संसद गर्नुपर्ने, प्रधानमन्त्री जोगाउन पार्टी भत्काउनुपर्ने, गुट जोगाउन विधिविधान बिर्सनुपर्ने, मूल्य, नैतिकता, आदर्श तोड्नुपर्ने अवस्था आउनु दुखद भएको बताए। 

भुसालले अब समाजवादीले संगठन निर्माणको काममा ध्यान दिनुपर्नेमा जोड दिए। 

‘यसो हेर्दा ४३–४५ प्रतिशत मानिसहरूले कम्युनिस्ट पार्टीलाई भोट हालेका छन्। मुलुकमा समाजवादको, न्यायको जबरजस्त उपस्थिति छ तर, संगठनले त्यसलाई बोक्न सकेन भने सधैँ रहँदैन,’ भुसालले भने। 

भुसालले मूल रूपमा समाजवादी भनिएका कम्युनिस्ट संगठनका नेतृत्वले प्रधानमन्त्री हुन, संघ वा प्रदेशको मन्त्री हुन, तल्लो तहमा मेयर बन्नकै लागि मरिमेटेको बताए। 

उनले प्रदेश र जिल्ला कमिटीका पनि पदकै लागि लागेको तर्क गरे। आम रुपमा पार्टीमा बनेका संगठनहरुले समाजवादी मान्छे निर्माण नगरेको उनको भनाइ छ। 

‘प्रदेश वा जिल्ला कमिटीको हेर्ने हो भने धेरैजसोको प्रयत्न भनेको प्रदेशमा मन्त्री हुने हो, सांसद हुने हो। नत्र मेयर हुने। कार्यकर्ता विभिन्न उपभोक्ता समितिमा बस्ने र सुरक्षित हुने। अहिलेको संगठनले यस्ता मान्छेहरू उत्पादन गर्दै छ,’ उनले भने। 

जेठ २७, २०८१ आइतबार १७:०५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।