‘गाउँ आएको बाटो’ : सुस्त कथ्य शैली, हतारिएको क्लाइमेक्स
गाउँमा बाटो पस्दैछन् अनि त्यही बाटो हुँदै भित्रिएका आर्थिक चुनौतीले गाउँलेहरू भने शहरतिर खस्दैछन्। यही यथार्थ कथा केन्द्रित भएर निर्देशक नवीन सुब्बाले राई संस्कृतिको डोज केही बढी नै राखेर निर्माण गरेको फिल्म ‘गाउँ आएको बाटो’ अहिले हलमा प्रदर्शन भइरहेको छ।
कथा पुरानै टिपेका छन् निर्देशकले। घटना र परिवेश पनि पुरानै छ। ब्याकग्राउन्ड स्कोर बाहेक उनले कथ्य शैलीमा पनि पुरानै लेपन लगाएका छन्। पात्र, परिवेश अनि घटनाक्रम नौला छैनन्। निर्देशक सुब्बाले सुधारेको भनेको केही हदसम्म सिनेमाटोग्राफी अनि कलाकारको अभिनय र ब्याकग्राउन्ड स्कोरै हो।
माइला बनेका दयाहाङ राईको चरित्र हेर्ने हो भने यस अगाडि राई अनि लिम्बु समुदायमा आधारित फिल्महरूमा उनको चरित्र भन्दा भिन्न छैन। तर हिँडाई, बोलाई र लवाइमा फरकपन दिने प्रयास गरेका छन् निर्देशकले यो फिल्ममा। यसमा निर्देशक केही हदसम्म सफल पनि भएका छन्।
निर्देशकको सबैभन्दा बढी मिहिनेत बाल कलाकार बिन्द्रे बनेका प्रसन्न राईलाई गराएको अभिनयमा देखिन्छ। यसमा भने निर्देशक सुब्बाले वाह लायक मिहेनत गरेका छन्।
गाउँमा बाटो र सार्वजनिक सवारीसँग भित्रिने परिवर्तनसँग निम्न आर्थिक अवस्था भएका परिवारमा थपिने चुनौती, दुई पुस्ताबीचको परिवर्तनको गति, छोराको रहर पुरा गर्न बाउको मनमा उब्जिने इख, नेपाली उत्पादनलाई तिरस्कार गर्दै विदेशी उत्पादनलाई प्रोत्साहन गर्ने सरकारी नीति सबै पाटो छुने प्रयास गरेका छन् निर्देशकले फिल्ममा।
फिल्ममा उनले प्रशस्तै बिम्बहरूको प्रयोग गरेका छन्। घरमा श्रीमतीले बनाएको रक्सी बेच्न नपाएको दुख बिसाउँदा फ्याक्ट्रीमा बनेको रक्सी खाएको दृश्यमार्फत निर्देशकले आफ्नो उत्पादनलाई बहिष्कार गराउने सरकारी नीतिमाथि कसिलो व्यङ्ग्य गरेका छन्। छोरालाई किनिदिएको कालो चस्माबाट देखिने रङले पुस्ताबीचको परिवर्तनको सङ्केत दिएका छन्। यस्ता बिम्बहरू टन्नै छन् फिल्ममा।
फिल्मी चेत भएका दर्शकले त यस्ता बिम्ब सहजै बुझ्छन् नै। तर सामान्य दर्शकले निर्देशकले प्रयोग गरेको बिम्बको अर्थ भेउ पाउन मुस्किलै पर्न सक्छ।
फिल्मको बलियो पाटो भोजपुरको एक गाउँको पात्रहरू मार्फत नीति निर्माणतहमा रहेकाहरूमा रहेको विकासको कच्चा मोडलमाथिको प्रहार हो। विकास भनेको सडक मात्रै हो भने जसरी एउटा गाउँ जान चारतिर पहाड खोस्रने तर त्यही सडकसँगै गाउँ भित्रिने चुनौतीसँग त्यहाँका निम्न आय भएकाहरूको जीवनमा कस्तो असर पर्छ नहेर्ने, स्थानीय उत्पादनको संरक्षण र औद्योगीकरणमा वास्ता नगर्ने कच्चा नीति निर्मातामाथि गतिलै प्रहार छ फिल्ममा।
राई समुदायको संस्कृति र संस्कार देखाउन निर्देशकले निकै मिहेनत गरेका छन्। मुख्य रूपमा राई समुदाय र चुल्होको सम्बन्धलाई उनले मिहिन रूपमा देखाउने प्रयास गरेका छन्। तर त्यही संस्कार र संस्कृति गैर समुदायका दर्शकका लागि भने यो के गरेको होला अनि किन गरेका होला भन्ने पर्छ नै।
फिल्मको मूल कथा बाउ-छोराको सम्बन्धबाट प्रारम्भ गरेर वियोगान्त मोडमा लगेर टुङ्ग्याएका छन् निर्देशकले। जीवनयापन र छोराको रहर पुरा गर्न निम्न वर्गीय परिवारका सदस्यले गर्ने सङ्घर्ष देखाउन धेरै समय खर्चिएका छन् फिल्ममा।
चरित्र र अभिनयका दृष्टिमा राई माइला बनेका दयाहाङ, उनको श्रीमती बनेकी पशुपति राई र उनीहरूको छोरा बनेका प्रसन्न राई जमेका छन्। यी तीन पात्रलाई अभिनयका दृष्टिमा क्रमैसँग राख्ने हो भने पहिलोमा पर्छिन् पशुपति राई। उनको अभिनय पात्र सुहाउँदै पुरै अर्ग्यानिक छ। दोस्रोमा पर्छन् प्रसन्न। उमेर अनुहार जुन चरित्र पाएका छन् त्यसमा खोट लगाउने ठाउँ दिएका छैनन्।
अनि तेस्रो क्रमसङ्ख्यामा दयाहाङ। किनकि बेलाबखत उनको अभिनय पात्रको लयबाट बाहिर गएको देखिन्छ। उनको अभिनयलाई फरकपन दिन निर्देशकले मिहिनेत गरेको उनको बडील्याङवेज र बोलाइमा हो। तर बेलाबखत उनी पत्रको चरित्र चित्रणबाट बहकिएको प्रस्टै देखिन्छ।
सुस्त गतिको कथा शैली अनि हतारमा अन्त्य यो फिल्मको सबैभन्दा कमजोर पक्ष हो। देश संवृद्ध नभए पनि वैदेशिक रोजगारीको उपहारले घर-घरमा स्मार्ट फोन अनि डिजिटल टेलिभिजन सेट भित्रिसकेको अवस्थामा एक टेलिभिजन सेटका लागि गराएको सङ्घर्ष, अर्काको घरमा टेलिभिजन हेर्न जानुपर्ने बालबालिकाको बाध्यताले यो कथा कमसेकम ५५ सालतिरको हो भन्न सकिन्छ।
समाजको विकास क्रमसँगै उसको बोल्ने शैली अनि राजनीतिक चेतमा पनि फरकपन आउँछ नै। त्यो फरकपन पात्रहरूमा देखिन्न। स्थानीय नेतामार्फत निर्देशकले भनाएको डायलग‘सुखी नेपाली, समृद्ध नेपाल’ २०७२ पछि नेताहरूको मुखमा थेगोको रूपमा झुन्डिएका वाक्य हो। मूल पात्रहरूको संवादमा समेत समयक्रम मिलाउन निर्देशक चुकेका छन्।
फिल्मको अधिकांश भाग गाउँमै घुमेको छ। केही मात्रा धरानको दृश्यले ठाउँ पाएको छ। पहिलो हाफ निकै सुस्त छ। पहिलो हाफ जसरी सुस्त गतिमा अगाडि बढाएका छन् निर्देशकले दोस्रो हाफमा भने फिल्म सक्काउन केही हतार गरेको देखिन्छ।
अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रदर्शनहुँदै नेपाल आइपुगेको फिल्मको ट्रेलरसम्मले त्यति हाइप नबनेको बेलामा एकाएक राई माइला बोलको गीत आएपछि भने फिल्मको चर्चा केही बढेको थियो। सुनिता थेगिमको स्वर, कालीप्रसाद बास्कोटाको सङ्गीत अनि श्रवण मुकारुङको शब्दमा बनेको गीत फिल्म रिलिज हुनुभन्दा चार दिन अगाडि रिलिज भएको थियो।
फिल्म चलाउन गीतको कति महत्त्व हुन्छ भन्ने’बोक्सीको घर’को प्रमोसन गीतले देखाएको थियो। निर्देशक सुब्बा पनि त्यतै लागेछन्। यो गीत सुनेर अनि हेरेर फिल्म हल पुगेका दर्शकले फिल्ममा गीत नभेट्दा खल्लो मान्ने नै भए।
युट्युबमा राख्दा फिल्मको अफिसियल गीत भनिएको छ। अफिसियल गीत भनेपछि त फिल्ममा अटाउनु पर्ने हो नि। कि त युट्युबमै अफिसियल प्रमोसन गीत भनेको भए भइहाल्थ्यो। यसमा भने निर्देशकले दर्शकलाई ढाँटेको अनुभव भयो।
सिनेमाटोग्राफी मध्यम नै हो। सम्पादनमा कस्दा सिनेमाटोग्राफीका केही कमजोरी छोपिए पनि अधिकांश स्थानमा क्यामेरा वर्कको कमजोरी चिप्लिहाल्छ। फिल्मको कलरिङमा पनि राम्रैसँग खेल्ने प्रयास गरेका छन् निर्देशकले।
पात्रको चरित्र स्थापित गर्न निर्देशक केही हतारिएका छन्। गाउँमा बाटो आउनु अगाडिको राई माइलाको संघर्षलाई त्यति स्थापित गर्न सकेका छैनन् निर्देशकले। बाउ र छोराको सम्बन्धमा अझ मिहेनत गर्ने स्थान प्रशस्त देखिन्छ। अलि मिहिनेत गरेको भए पर्दामा देखिने बाउ-छोराको सम्बन्ध अनि कथा अनुसार आउने उतारचढावले दर्शकको मन हुँडलिन सक्थ्यो। तर पात्रको मन मात्र हुँडले निर्देशकले।
निर्देशक सुब्बाले ‘खांग्री’ अनि ‘गुडबाई काठमाडौँ’को निर्देशन गरिसकेका छन्। ‘खांग्री’ पहिलो फिल्म थियो अनि ‘नुमाफुङ’ दोस्रो। रिलिजको हिसाबमा ‘गाउँ आएको बाटो’ उनको तेस्रो फिल्म बन्यो। गुडबाई काठमान्डु रिलिज हुनै बाँकी छ।
चार फिल्मको निर्देशन गरिसक्दा पनि अहिलेसम्मको उनको ब्रान्ड नुमाफुङ नै हो। २३ वर्षपछि ‘नुमाफुङ’को ब्रान्ड विस्थापित गरेर ‘गाउँ आएको बाटो’ स्थापित हुनुपर्ने हो। तर आफ्नै कारण उनी असफल भए। अझैँ पनि नवीन सुब्बाको परिचय ‘नुमाफुङ’को निर्देशकै रहने भयो।
तर मौलिक नेपाली कथामा फिल्म निर्माण गर्ने साहस गरिरहेका निर्माता र निर्देशकहरूलाई सुब्बाको यो प्रयासले केही मात्रामा हौसला भने पक्कै दिनेछ नै।
जेठ २७, २०८१ आइतबार १६:५३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।