पार्टी फुट्ने कत्रो चिन्ता माधव नेपाललाई !

पार्टी फुट्ने कत्रो चिन्ता माधव नेपाललाई !

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन कम्युनिस्टहरू नै लागि परेको आरोप लगाएका छन्।

आइतबार पार्टीले आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति’अन्तरक्रिया कार्यक्रममा उनले अध्यादेश ल्याएर एकीकृत समाजवादी पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याएर जसपाका दोस्रो तारो बनाएको बताए। 

उनले भने, ‘यहाँ कम्युनिस्ट भनिएकाहरू नै कम्युनिस्ट विरोधी भइरहेका छन्। कम्युनिस्ट पार्टीलाई सिध्याउन कम्युनिस्टहरू नै कसरी लागे भन्ने कुरा हामीले बुझ्नुपर्छ। अध्यादेश ल्याएर हाम्रो पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याउन लागेका छन्। त्यसैले हाम्रा मान्छेलाई जहाँ पनि जान दिने? जसरी जनता समाजवादी पार्टीलाई जुन स्थानमा पुर्याउन काम भयो दोस्रो तारो हामी बनिरहेका छौं। यथार्थलाई बुझ्न सकेनौं भने गफले मात्र केही हुने वाला छैन।’

एक दलीय शासनले समाजवाद स्थापित हुन नसक्ने उनको भनाइ छ। उनले अहिले पार्टीलाई जोगाउने कुरा पहिलो कुरा भएको बताए। 

पार्टीलाई सशक्त बनाउन, नयाँ क्रान्तिकारी योद्धाहरू  र युवालाई आकर्षण गर्ने मूल काम भएतापनि युवा भनेर भ्रष्टाचारमा चुर्लुम्म डुब्ने, जाँडरक्सीमा पूरै घैँटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताए। 

उनले भने, ‘अहिलेको अवस्थालाई विश्लेषण पार्टीलाई जोगाउन, अस्तित्व रक्षा गर्ने पहिलो कुरा हो, संगठन बलियो बनाउने कुरा दोस्रो हो। पार्टीलाई सशक्त बनाउन, नयाँ क्रान्तिकारी योद्धा र युवालाई आकर्षण गर्ने मूल काम हो। भ्रष्टाचारमा चुर्लुम्म डुब्ने,जाँडरक्सीमा पूरै घैँटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन।’ 

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटेपछि अध्यक्ष नेपालले पटकपटक आफ्नो पार्टी फुट्ने चिन्ता गरिरहेका छन्। पछिल्ला केही कार्यक्रमहरूमा उनले आफ्नो पार्टी फुटाउन षड्यन्त्र भइरहेको बताउँदै आइरहेका छन्। 

त्यस क्रममा उनी कहिले एमालेसँग मिलन तयार भएको बताउँछन् त् कहिले सत्ता गठबन्धन छोडे पार्टी फुटाइदिने धम्की आएको बताउँछन्। तर, पछिल्लो केही समययता भने सार्वजनिक कार्यक्रमहरूमा  उनले पटकपटक पार्टी फुट्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

जेठ २७, २०८१ आइतबार १५:४०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।