बिराटनगरमा विद्यार्थीले जलाइदिए सरकारी गाडी, के हो विवादको जड ?

बिराटनगरमा विद्यार्थीले जलाइदिए सरकारी गाडी, के हो विवादको जड ?

काठमाडौं : बिराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाएका छन्।

मोरङको रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन्। उनीहरूले आगजनी गरेको उक्त गाडीमा प्रदेश योजना आयोगका उपाध्यक्ष राजेन्द्र अधिकारी सवार रहेको बताइएको छ। 

सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन्।

केही दिनअघि विद्यार्थीको एउटा समूहले रंगली नगरपालिकाभित्रै पसेर नगर प्रहरीमाथि आक्रमण गरेपछि ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्ने विद्यार्थीहरूमा  रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन्।

शुक्रबारदेखि आन्दोलनरत विद्यार्थीको उक्त समूहले पक्राउ परेका ती विद्यार्थीलाई रिहाइ गर्नुपर्ने माग गर्दै आएको छ। पक्राउ गरिएका ती विद्यार्थीहरूलाई बिना सर्त रिहाइ नगरे थप आन्दोलन गर्ने उनीहरूको चेतावनी छ। 

यता, प्रहरीले भने पक्राउ परेको उक्त समूहले नगरपालिकाका कार्यवाहक प्रमुख ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकार न्यौपानेमाथि पनि दुर्व्यवहार गरेको भन्दै उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइ पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ। 

निजी विद्यालयले कानूनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरेको भन्दै नगरपालिका पुगेका विद्यार्थीले नगर प्रहरीमाथि आक्रमण गरेका थिए। त्यसअघि उनीहरूले यस विषयमा गएको जेठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका थिए।

जेठ २७, २०८१ आइतबार ११:५०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।