कोशी प्रदेश विवादको छिनोफानो सर्वोच्चको पूर्ण इजलासबाट हुँदै

कोशी प्रदेश विवादको छिनोफानो सर्वोच्चको पूर्ण इजलासबाट हुँदै

काठमाडौं : कोशी प्रदेश सरकार गठनको विवाद आजको पूर्ण इजलासले हेर्दैछ। विवादको छिनोफानो तीन न्यायाधीशको इजलासबाट हुने निश्चित भएको छ। 

कोशी प्रदेशमाथि परेको रिटमाथि सर्वोच्चका न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको पूर्ण इजलासमा पेशी परेको छ। यसअघि गत २३ गते न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण इजलासमा सुनुवाइका लागि पठाउन आदेश दिएको थियो।

वैशाख २६ गते प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेपछि केदार कार्की सर्वोच्च अदालत गएका थिए। उनको मुद्दामा जेठ ९ गते मुख्यमन्त्रीको रूपमा हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको थियो।

मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिमा प्रश्न उठाउँदै पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा यसअघि जेठ १६ गते पनि सुनुवाइ भएको थिएन।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिइसकेको कारण अब हटाउन नपाइने जिकिर गरेका छन्। एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। 

उता सर्वोच्चको परमादेशबाट गण्डकीको सरकार बदलिइसकेको छ। एमाले नेतृत्वको सरकार ढलेेर कांग्रेसका सुरेन्द्र पाण्डे मुख्यमन्त्री भएका छन्। उनी २८ गतेे विश्वासको मत लिँदैछन्। तर ३१ मत पुर्याउन हम्मे छ।

जेठ २७, २०८१ आइतबार ११:२७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।