वेस्ट इन्डिजले १ सय ३४ रनले हरायो युगान्डालाई
काठमाडौँ : आइसिसी टी–२० विश्वकपको खेलमा वेस्ट इन्डिजले युगान्डालाई १ सय ३४ को फराकिलो रन अन्तरले पराजित गरेको छ। १ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ औँ ओभरमा अलआउट भएको हो। खराब सुरुवात गरेको युगान्डा ३९ रनमै समेटियो।
समूह सीमा रहेका वेस्ट इन्डिज र युगान्डाबीच पहिलो पटक टी-२० खेल भएको हो। युगान्डाका जुमा मियागीले अविजित १३ रन बनाए। उनी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन्।
युगान्डालाई सस्तैमा रोक्न वेष्टइन्डिजका अकिल हुसैनले सर्वाधिक ५ विकेट लिए। हुसेनले ४ ओभरमा ११ रन खर्चिएर ५ विकेट लिँदा अल्जारी जोसेफले ३ ओभरमा ६ रन दिएर २ विकेट हात पारे।
यस्तै, अल्जारी जोसेफले २, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक-एक विकेट लिए।
गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो।
वेस्ट इन्डिजका लागि जोन्सन चाल्सले सर्वाधिक ४४ रन, रोभमन पावलले २३ रन ,निकोलस पुरन र शेरफेन रुथरफोर्डले समान २२ बनाए । यस्तै आन्द्रे रसेल ३० रनमा नटआउट पारि खेले। युगान्डाका बसिन मासाबाले २ विकेट लिए।
दुई पटकको विश्व विजेता वेस्ट इन्डिज लगातार दोस्रो जितपछि समूह सीमा ४ अङ्क बनाएको वेस्ट इन्डिज दोस्रो स्थानमा छ। शीर्ष स्थानमा समान अंकका साथ अफगानिस्तान रहेको छ।अफगानिस्तान रनरेटका आधारमा अगाडि रहेको छ ।
यसैगरी युगान्डा २ अंकका साथ तेस्रो स्थानमा रहँदा पपुवा न्युगिनी र न्युजिल्याण्डले तालिकामा अंकको खाता खोल्न सकेका छैनन्।
जेठ २७, २०८१ आइतबार १०:५९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।