संसद् बैठक दुई दिन सर्दा एक रुपैयाँ बजेटको छ प्रस्ताव लम्बियो

संसद् बैठक दुई दिन सर्दा एक रुपैयाँ बजेटको छ प्रस्ताव लम्बियो

काठमाडौँ :  प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णयसँगै एक रुपैयाँ  बजेटको प्रस्तावमाथि छलफल सरेको छ। आइतबारको कार्यसूचीमा विभिन्न मन्त्रालयको बजेट एक रुपैयाँ बनाउन छ प्रस्ताव आउँदै थिए।

बैठकमा प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।

त्यस्तै, सांसद अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने तयारी थियो।

सांसद पुष्पबहादुर शाहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनेर खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।

यस्तै, सांसद बद्रीप्रसाद पाण्डेले विनियोजन विधेयक, २०८१ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।

सांसद रमा कोइराला पौड्यालले विनियोजन विधेयक, २०८१ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख थियो।

 

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेपछि सभामुखले दुई दिन बैठक सार्ने निर्णय गरेका हुन्।

सभामुख निवास बालुवाटारमा बिहान मुख्य दलका प्रमुख सचेतकसहितको बैठक बसेको थियो। बैठकमा २९ गतेदेखि नियमित छलफल हुने सहमति भएको बताइएको छ।

बैठकमा सभामुख देवराज घिमिरे सहित उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी थिए।

जेठ २७, २०८१ आइतबार १०:१७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।