'बलिउडका 'किङ' शाहरुखः मिडियासँगको प्रेम किन रिसमा फेरियो?

'बलिउडका 'किङ' शाहरुखः मिडियासँगको प्रेम किन रिसमा फेरियो?

काठमाडौँ : बलिउड सुपरस्टार शाहरुख खान एक समय ‘मिडियाप्रेमी’ सेलिब्रेटीका रूपमा चिनिन्थे। तर पछिल्ला वर्षमा भने उनी मिडियासँग तर्कँदै हिँडिरहेका छन्। उनी सकेसम्म मिडिया छल्ने प्रयास गर्छन्। मिडिया अगाडि देखिँदा  मास्क, छाताले अनुहार छोप्ने र अनुहार छोप्ने लुगा लगाएर हिँड्न थालेका छन्।

मिडियाप्रेमी शाहरुख मिडियासँग किन तर्किएर हिँडिरहेका छन् ? छोरा आर्यन खान लागुऔषध मामलामा पक्राउ परे लगत्तै मिडियामा उनको विषयमा निरन्तर आएका नकारात्मक समाचारपछि शाहरुखको मिडियाप्रति हेर्ने दृष्टिकोण फेरिएको देखिन्छ। उनी मिडियासँग निकै रिसाएका छन्।

सन् २०२१ मा लागुऔषध मामलामा आर्यन पक्राउ परेपछि शाहरुख विशेषतः पापाराजीलाई बेवास्ता गर्दै आएका छन्। आर्यन पक्राउको बेलामा मिडियाले एक पक्षीय समाचार प्रकाशित/प्रसारित गर्दा शााहरुख रिसाएका छन्। 

हालैमात्र मुम्बईका फोटोग्राफर बरिन्दर चावलाले एक घटनामा आफूलाई ‘पठान’ अभिनेता शाहरुखले फोन गरेको स्मरण गरे।

सन् २०२३ मा ‘पठान’ रिलिज भएपछि बरिन्दरको टिमले शाहरुखलाई भेटेको थियो। शाहरुखलाई भेट्दा शाहरुखले आफ्नो गोपनीयतामा हस्तक्षेप भएको महसुस गरेका थिए। 

‘त्यसपछि शाहरुख रिसाएर उनको पीआरलाई फोन गरे। उनले पीआरलाई मेरो टिमले खिचेको भिडियो प्रयोग नगर्न भने। त्यसपछि मेरो टिमले शाहरुखको गोपनीयतामा हस्तक्षेप गरेकोमा उनीसँग माफी मागेँ’, उनले भनेका छन्।

त्यसपछि शाहरुखको मेनेजरले बरिन्दरलाई फोन गरेर शाहरुखले उनीसँग कुरा गर्न चाहेको बताएका थिए । बरिन्दरसँग शाहरुखले ५ मिनेट कुरा गरेपछि आर्यनसँग शाहरुखको कति प्रेम छ भन्ने महसुस गरे।

'छोराका विषयमा कसैले नकारात्मक कुरा गरे भने शाहरुख दुःखी हुन्छन्। छोराका लागि मिडियाले गरेको कामप्रति शाहरुख पागल भएका छन्’, बरिन्दरले भनेका छन्।

आर्यन जेलमा रहँदा शाहरुख उनलाई भेट्न गएका थिए। त्यो समयमा जेल बाहिर फोटोग्राफरको भीड लागेको थियो। यो घटनापछि शाहरुख मास्क लगाएर, छाता ओढेर आफ्नो अनुहार मिडियामा नदेखाउने गरी हिँड्न थालेका छन्।

जेठ २७, २०८१ आइतबार ०९:४१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।