आज १२ औँ राष्ट्रिय कृषक दिवस, उत्कृष्ट कृषक सम्मानित हुँदै

आज १२ औँ राष्ट्रिय कृषक दिवस, उत्कृष्ट कृषक सम्मानित हुँदै

काठमाडौँ : कृषि प्रधान देश नेपालमा आज १२औँ राष्ट्रिय कृषक दिवस मनाइँदै छ। देशभरका कृषकहरूको सम्मानको लागि मनाइने यो दिवसका दिन देशभित्रका कृषि पेसा र सेवामा लागेका कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिन्छ।

राष्ट्रिय कृषक महासङ्घ नेपालले 'मानवीय विकासको मुख्य आधार कृषक समुदायको विकास गरी समग्र समाजको विकासमा सहयोगी बनौँ’ भन्ने नारासहित आइतबार दिवस मनाउँदै छ। विं सं २०७० साल देखि प्रत्येक वर्ष महासङ्घ अन्तर्गतको कृषक सेवा समितिले दिवस मनाउँदै आएको छ।

दिवसको अवसर पारेर देशभरका कृषि क्षेत्रमा लागेका उत्कृष्ट कृषकहरूलाई सम्मान गर्ने गरिन्छ भने, आधुनिक र विकसित कृषि प्रणालीबारे सचेतना दिने कार्यक्रमहरूको आयोजना गरिन्छ।

राष्ट्रिय कृषक महासङ्घ नेपाल राष्ट्रिय कृषक दिवस व्यवस्थापन समितिले विशेषगरी खाद्यान्न उत्पादन गरी मानव लगायतका प्राणीको जीवन रक्षामा लागेका कृषि कर्मीलाई समय सापेक्ष कृषि प्रणालीको ज्ञान र सीप सिकाएर व्यवसायीक बनाउनुपर्नेमा जोड दिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा हाल ५० दशमलव १ प्रतिशत जनसंख्या कृषिमा पेसामा आश्रित छन्। 

जेठ २७, २०८१ आइतबार ०९:११:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।