मोदीलाई बधाई दिन प्रधानमन्त्री प्रचण्ड छोरीसहित भारत जाँदै, शपथग्रहणमा सहभागी हुने

मोदीलाई बधाई दिन प्रधानमन्त्री प्रचण्ड छोरीसहित भारत जाँदै, शपथग्रहणमा सहभागी हुने

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनको बलमा तेस्रो पटक प्रधानमन्त्री भएका भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा भाग लिन भारत जाँदैछन्।

दाहाल पाँच सदस्यीय प्रतिनिधिमण्डलसहित नयाँ दिल्ली जान लागेका हुन्। भारतमा हालै सम्पन्न निर्वाचनपछि नरेन्द्र मोदी तेश्रोपटक प्रधानमन्त्री बन्दैछन्। आइतबार साँझ मोदीले प्रधानमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

प्रधानमन्त्री नेतृत्वको टोलीमा प्रधानमन्त्री दाहालकी छोरी एवम् स्वकीय सचिव गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहने जनाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मोदीले शपथ लिएपछि आइतबारै प्रधानमन्त्री मोदी र दाहालबीच भेटवार्ता गर्ने कार्यक्रम छ।

दाहाल सोमबार स्वदेश फिर्ता हुनेछन्। भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहालले शनिवार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए। प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए।

जेठ २७, २०८१ आइतबार ०८:२७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।