बजेटलाई लिएर गठबन्धनभित्र खटपट देखिएपछि के भन्छन् अर्थमन्त्री ?

बजेटलाई लिएर गठबन्धनभित्र खटपट देखिएपछि के भन्छन् अर्थमन्त्री ?

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले वर्तमान दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्म अगाडि बढाउने बताएका छन्। 

रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बजेटमाथिको टिप्पणी सुन्दा सरकार कमजोर हुने र गठबन्धन टुट्ने कुरा आएको भन्दै यो गठबन्धन नटुट्ने बताए। 

उनले भने, ‘बजेटको बारेमा आएको टिप्पणी सुन्दा यो सरकार कमजोर हुन्छ कि, गठबन्धन टुट्छ कि भन्ने कुरा आउँछ तर त्यो होइन। यो गठबन्धन हामी आगामी निर्वाचनसम्म लाने परीक्षण गर्ने र मुख्य सर्त के हो भने देशलाई एउटा आशा जगाउने, जनतामा अलि निराशा छाएको जस्तो छ।’ 

उनले विचार एउटै भएन भने छोटो समयको लागि मात्र सहयात्री हुने भन्दै देशमा एउटा आशा जगाउनको लागि सोच मिल्ने नयाँ गठबन्धनका साथ सरकार अगाडि बढ्ने बताए। 

उनले भने, ‘अहिले जुन नेपालको राष्ट्रिय राजनीति छ, हामी राष्ट्रिय शक्तिहरू एकै ठाउँमा बसेर राष्ट्र निर्माणको कामलाई अगाडि लैजाउँ भनेर पछिल्लो समयमा एउटा नयाँ अभ्यास सुरु भएको छ। हामीले गठबन्धन गरेर निर्वाचन पनि लड्यौं, सरकार पनि बनायौं, तर त्यसैबाट मात्र के देशको निर्माण सम्भव छ। त्यसमा विचार पनि एउटै हुनुपर्छ, विचार एउटै भएन भने छोटो समयको लागि मात्र सहयात्री हुन्छ। त्यसकारण अहिले सोच मिल्नेहरूसँग नयाँ गठबन्धन भएको छ र यो सरकार र गठबन्धन अगाडि बढाउने र यसले देशमा एउटा आशा जगाउने। अलि अलि समस्या भए पनि यो गठबन्धन अगाडि बढ्नु पर्छ र बढ्छ यो हाम्रो प्रतिबद्धता हो।’ 

देशलाई आत्मनिर्भर बनाउनका लागि रुपान्तरणकारी क्षेत्र कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गर्नेतर्फ सरकार लागेको पनि उनले दाबी गरे। 

उनले भने, ‘कृषि क्षेत्र रुपान्तरणकारी हुन्छ, आधारभूत रुपमा खानको लागि पहिला देश आत्मनिर्भर हुनुपर्यो, त्यसो हुँदा कृषि क्षेत्रलाई प्राथमिकता दिएका छौं। कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, व्यवसायिकरण गर्ने, त्यसको लागि के गर्ने भन्दा हामी करार खेतीलगायत धेरै अवसरहरू छन्।’ 

जेठ २६, २०८१ शनिबार २१:२५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।