'प्रधानमन्त्री प्रचण्ड मोदीको सपथग्रहणमा जाने दिनमा राजदूत फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत?'

'प्रधानमन्त्री प्रचण्ड मोदीको सपथग्रहणमा जाने दिनमा राजदूत फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत?'

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको ११ देशका राजदूत फिर्ता बोलाउने निर्णयप्रति आपत्ति जनाएका छन्। यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य नभएको उनको टिप्पणी छ। 

शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै नेता कोइरालाले विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको उक्त निर्णय संयोग मान्ने कि नियत भन्दै प्रश्न गरेका छन्। 

‘लामो घनिष्ठ सम्बन्ध, व्यापारको झण्डै दुई तिहाइ हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नवनिर्वाचित सरकारको सपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत? दुरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन्’, नेता कोइरालाले लेखेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुने समारोहमा भाग लिन भारत जाँदैछन्। तर बिहीबार मन्त्रीपरिषद्को बैठक राखेर उनले भारतका लागि नेपाली राजदूतलाई नै फिर्ता बोलाउने निर्णय गरे।

सरकारले भारतसँगै अन्य ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। भारतका हकमा आफ्नो भ्रमणपछि राजदूत फिर्ताको निर्णय गर्न सक्थे प्रधानमन्त्रीले। तर, उनले आफ्नो भारत भ्रमणकै बेलामा पारेर भारतमा रहेको नेपाली दूतावासलाई नेतृत्वहीन बनाएर भारत भ्रमणमा जाने निर्णय गरेका छन्। 

जेठ २६, २०८१ शनिबार १७:४२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।