वीर अस्पतालमा २३ दिनसम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क हुने

वीर अस्पतालमा २३ दिनसम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क हुने

काठमाडौं : वीर अस्पतालमा २३ दिनसम्म निःशुल्क ब्रेन ट्युमरको शल्यक्रिया हुने भएको छ। अस्पतालले जेठ २६ देखि असार १६ गतेसम्म ब्रेन ट्युमरका बिरामीको अप्रेशन शुल्कमा सतप्रतिशत छुटको व्यवस्था गरेको ‘राष्ट्रिय ब्रेन ट्युमर केन्द्र’का संस्थापक अध्यक्ष तथा वीर अस्पतालका न्यूरो सर्जरी विभागका प्रमुख प्राडा राजीव झाले जानकारी दिए।

८ जुनका दिन विश्व ब्रेन ट्युमर दिवस मनाइन्छ। सो दिवसको अवसर पारेर वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गर्ने व्यवस्था मिलाइएको डा. झाले बताए। गत वर्ष पनि अस्पतालले सो दिवसको अवसरमा एक हप्ताका लागि ब्रेनट्युमरका बिरामीको शल्यक्रिया निःशुल्क भएको थियो। 

ब्रेन ट्युमर दिवसको समयमा नेपालमा ‘राष्ट्रिय ब्रेन ट्युमर केन्द्र’ले विभिन्न सृजनात्मक कार्यक्रम गर्दै आएको छ। विगतका वर्षमा जस्तै यो वर्ष पनि ब्रेन ट्युमरका विषयमा जनचेतना जगाउने उद्देश्यले वीर अस्पताल वरिपरी शनिबार ‘राष्ट्रिय ब्रेन ट्युमर केन्द्र’ले प्रभातफेरी गरेको छ। जहाँ चिकित्सक तथा स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो। प्रभातफेरीपछि वीर अस्पतालमा भएको एक कार्यक्रमगरी ब्रेन ट्युमरका बारेमा विभिन्न चिकित्सक लगायतले धारणा राखेका थिए।

विशेषगरी ब्रेन ट्युमरबाट प्रभावित भएका व्यक्ति तथा उनीहरुका परिवार र समाजमा ब्रेन ट्युमरका बारेमा जानकारी दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै आएको केन्द्रका संस्थापक अध्यक्ष प्रा.डा. झाले जानकारी दिए। 

चिकित्सा विज्ञानमा दिनानुदिन खोज, अनुसन्धान र प्रगतिहरू भइरहेपनि ब्रेन ट्युमरको उपचार तथा निदान जटिल र प्रायः चुनौतिपूर्ण रहेको डा. झाले बताए। तर, ब्रेन ट्युमर सम्बन्धी लक्षण तथा यसका जोखिमहरू बेलैमा पहिचान गरी उपचार गरेको खण्डमा ब्रेन ट्युमरका कारण निम्तिनसक्ने शारीरिक तथा मानसिक दुर्वलतालाई धेरै हदसम्म कम गर्न सकिने उनी बताउँछन्।
 
ब्रेन ट्युमर सम्बन्धी अनुसन्धानलाई बढाउन, बिरामीहरूको उपचारमा सुधार गर्न र प्रभावित व्यक्तिलाई सहजताका लागि नीति नियम बनाउन आवश्यक रहेको डा. झा बताउँछन्।

‘राष्ट्रिय ब्रेन ट्युमर केन्द्र’को कार्यालय वीर अस्पतालमा रहेको छ। छिटो र प्रभावकारी सेवाका लागि ब्रेन ट्युमरको लक्षण भएका बिरामीको तुरुन्तै स्वास्थ्य परीक्षण गरी एकै ठाउँमा औषधि उपचार तथा शल्यक्रिया गर्न यस्तो केन्द्रको आवश्यकता भएकाले लामो प्रयासपछि वीर अस्पतालमा गत वर्ष ‘राष्ट्रिय ब्रेन ट्युमर केन्द्र’को स्थापना गरी सेवा सञ्चालन सुरु भएको डा. झाले जानकारी दिए। 

यो केन्द्रको स्थापनाले ब्रेन ट्युमर भएका बिरामीको एकै ठाउँमा सहज र राम्रो, छिटो तथा प्रभावकारी उपचार हुने अपेक्षा छ। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापनाले ब्रेन ट्युमरका लक्षण भएका बिरामीको स्क्रिनिङ गरी रोग पहिचानका लागि समेत सहज हुने डा. झा बताउँछन्। 

एउटै केन्द्रमा बिरामीले प्रभावकारी सेवा पाएको खण्डमा बिरामी भौतारिनुपर्ने बाध्यतामा हट्ने केन्द्रको विश्वास छ। 

यसअघि नेपालमा ब्रेन ट्युमरको उपचारका लागि कुनै निश्चित सेन्टर नभएकाले बिरामीले दुःख पाउँदै आएको डा. झाले बताए। चिकित्सकका अनुसार ब्रेन ट्युमरको लक्षण भएका बिरामीको तुरुन्तै सिटी स्क्यान तथा एमआरआईलगायत विधिबाट स्वास्थ्य परीक्षण गर्नुपर्ने हुनसक्छ। तर, रोगको पहिचान र शल्यक्रियाका लागि ढिला हुँदा बिरामीले दुःख तथा पीडा पाउनुपरेको र वीर अस्पतालमा स्वास्थ्य परीक्षण तथा शल्यक्रियाका लागि बिरामीले कुर्नुपर्ने बाध्यता छ। 

समयमा नै पत्ता लगाएर उपचार गरेको खण्डमा यो रोग पूर्ण रुपमा ठिक हुनसक्ने चिकित्सक बताउँछन्। 

जेठ २६, २०८१ शनिबार १७:०६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।