ग्राहकको यौन हिंसामा पर्दा पनि किन उजुरी गर्दैनन् यौनकर्मी ? एक यौनकर्मीको मार्मिक अनुभव

ग्राहकको यौन हिंसामा पर्दा पनि किन उजुरी गर्दैनन् यौनकर्मी ? एक यौनकर्मीको मार्मिक अनुभव
तस्बिर : बिबिसी

जब अलाना हामीसँग अन्तर्वार्ताका लागि आइन्, उनी आफ्नो साथमा एउटा झोला लिएर आएकी थिइन्, जसमा लेस भएको अन्डरवेयर, घुँडासम्मको लामो जुत्ता र छालाको एउटा कोर्रा थियो।

सुरुमा अलाना केही डराएकी थिइन्, तर जब हामीले उनीसँग उनको कामबारे कुरा गर्न थाल्यौँ, उनी सहज हुन थालिन्।

अलाना उनको वास्तविक नाम होइन, उनले यो नाम आफैले राखेकी हुन्। यस नामको माध्यमबाट उनी आफ्नो काम र व्यक्तिगत जीवनलाई अलग-अलग राख्छिन्। आफ्नो व्यक्तिगत जीवनमा उनी एक आमा हुन्।

उनले भनिन्, 'दिन ढल्केपछि हामी आफ्नो मेकअप हटाउँछौँ र किनमेल गर्न वा बच्चाहरूलाई स्कुल लिन जान्छौँ।'

बेलायतको डर्बीशायरकी अलानाले बेलायती सरकारको स्वास्थ्य सेवा एनएचएस र मनोरञ्जन उद्योगमा काम गरेकी छिन्। तर अहिले उनी एक यौनकर्मीको रूपमा काम गर्छिन् र यही उनको आम्दानीको स्रोत हो।

यद्यपि अलाना स्वीकार गर्छिन् कि यस्तो कामले उनी र उनी जस्ता अन्य महिलाहरूलाई असुरक्षित महसुस गराउन सक्छ, खासगरी ती यौनकर्मीहरूलाई जोसँग विकल्पहरू हुँदैनन्।

उनी आफ्नो भाग्य राम्रो भएको मान्छिन्। कारण, बितेका तीन वर्षमा उनीमाथि केवल एकपटक मात्र आक्रमण भएको छ। त्यसबेला एक ग्राहकले उनको सहमतिबिना उनको शरीरमा लागूपदार्थ हाल्ने प्रयास गरेका थिए।

घटनाको दिन के भयो?

उनलाई जुन बुकिङ्ग मिलेको थियो त्यो उनको घर जाने बाटोमा थियो। त्यसैले सजिलो थियो। तर उनलाई केही ठिक छैन जस्तो लागिरहेको थियो।

उनको ग्राहक सामान्य देखिने एक मध्यम उमेरको व्यक्ति थियो। उनी पुग्नुभन्दा पहिले नै उनले लागूपदार्थ लिइरहेका थिए।

उनले भनिन्, 'उनी धेरै आक्रामक भइरहेका थिए। उनले जबर्जस्ती मेरो टाउको समातेर आफूतिर ताने।'

ती व्यक्ति यौन सम्पर्कका लागि आक्रामक भइरहेका थिए, तर उनी बुकिङको पूरा अवधि अर्थात् एक घण्टासम्म त्यहाँ बसिरहिन् ताकि त्यो व्यक्ति रिसाउन नपाओस्। उनी सुरक्षित रूपमा निस्कने विकल्प पनि थिएन।

यो आक्रमणपछि अलानालाई उपचार नै गर्नुपरेको थियो। तर यौनकर्मीहरूसँग सम्बन्धित अन्य अपराधहरू जस्तै अलानाले प्रहरीमा उजुरी दर्ता गराइनन्।

उनी भन्छिन्, 'प्रहरीमा उजुरी दर्ता गराएपछि कुनै कारबाही हुन्छ भन्ने मलाई लाग्दैन।'

अलानालाई लाग्छ उनले गर्ने कामसँग बदनामी जोडिएको छ र यो घटनाबारे जसले थाहा पाउँछन् उनीहरूले उनलाई नै दोष दिनेछन्।त्यो घटनाको असर उनमा लामो समयसम्म परिरह्यो।

यो कथा केवल अलानाको मात्र होइन।

जोखिमपूर्ण जीवन

सामान्य नागरिकको तुलनामा यौनकर्मीहरू विरुद्ध अपराध, खासगरी हिंसात्मक अपराध हुने सम्भावना बढी हुने अनुसन्धानले नै देखाउँछ।

सन् २०१६ मा यौनकर्मीहरूसँग अनलाइनमा गरिएको एक सर्वेक्षण अनुसार ४७ प्रतिशत कर्मीहरूले कुनै न कुनै प्रकारको अपराधको अनुभव गरेको बताए। ती अपराधहरूमा उत्पीडन, बलात्कार, शारीरिक आक्रमण, लुटपाट र अपहरण गर्ने प्रयासहरू समावेश छन्।

सन् १९९९ मा 'रिस्की बिजनेस: हेल्थ एन्ड सेप्टी इन द सेक्स इन्डस्ट्री' नामक एक अध्ययन भएको थियो। यसमा नौ वर्षको अवधिमा ४०२ यौनकर्मीहरूको सर्वेक्षण गरिएको थियो।

अनुसन्धानमा यौनकर्मीहरूको मृत्युदर उही उमेरका अन्य महिलाहरूको तुलनामा १२ गुणा बढी रहेको देखियो।

अलाना भन्छिन्, 'हाम्रो पेसालाई कलङ्कको रूपमा हेरिन्छ र यसैले गर्दा हामी हिंसाको सिकार हुन्छौँ।'

यद्यपि, अहिले अलाना यी परिस्थितिहरूलाई परिवर्तन गर्ने प्रयासमा लागेकी छिन्।

उनी ती चुनिएका यौनकर्मीहरूमध्ये एक हुन् जसलाई यौनकर्मीहरूको सुरक्षामा सुधार ल्याउने उद्देश्यले भइरहेको अनुसन्धानसँग सम्बन्धित सल्लाहकार समूहमा नियुक्त गरिएको छ।

नटिङ्घम विश्वविद्यालयले एउटा यस्तो रिपोर्टिङ प्रणाली बनाउने प्रयास गरिरहेको छ जसको प्रयोग यौनकर्मीहरूले यौन उत्पीडन वा हिंसाको बेलामा गर्न सक्छन्।

यो रिपोर्टिङ प्रणाली अहिले आफ्नो अन्तिम चरणमा छ र यस वर्षको अन्त्यसम्ममा प्रहरी सहित अन्य निकायहरूले यसको फाइदा उठाउन सक्ने आशा छ।

क्रिमिनोलोजी (अपराध विज्ञान) की सहायक प्राध्यापक डा. लारिसा सैन्डी यो अनुसन्धानको नेतृत्व गरिरहेकी छिन्।

अस्ट्रेलिया मूलकी लारिसाले अस्ट्रेलियामा यौन कार्यलाई अपराधको वर्गबाट हटाउने माग पनि गरेकी थिइन्।

जर्मनी र न्युजिल्यान्ड जस्ता देशहरूले यौन कार्यसम्बन्धी नियमहरूमा खुकुलो पारेका छन्। तथापि, यसको लागि उनीहरूको आलोचना पनि भएको छ। यसले यौन पर्यटन र मानव तस्करीमा वृद्धि गराएको आरोप लागेको छ।

डा. लारिसा सैन्डी भन्छिन्, 'कानुन लागू गर्नु प्रहरीको काम हो, त्यसैले यदि तपाईँ यौन कार्यलाई अपराधको वर्गबाट हटाउनुहुन्छ भने यसले यौनकर्मीहरूलाई आफू विरुद्धको अपराधहरू रिपोर्ट गर्नुभन्दा पहिले सोच्नु पर्दैन, उनीहरूले सुरक्षा पाउन सक्छन्।'

यस्ता अपराधहरूबारे कम उजुरी दर्ता हुनुको एक कारण यससँग सम्बन्धित भ्रामक कानुनहरू रहेको उनको मत छ।

'मानिसहरूको बारेमा राय बनाइन्छ'

मेट्रोपोलिटन प्रहरीका अनुसार, उत्तरी आयरल्यान्ड बाहेक बेलायतमा पैसाको बदलामा यौन सेवाहरू दिनु कानुनी हो। उत्तरी आयरल्यान्डमा भने यौनका लागि पैसा तिर्नु गैरकानुनी हो।

तथापि, बेलायतमा यौनसम्बन्धी अन्य गतिविधिहरू गैरकानुनी छन्, जस्तै यौन सेवाहरूका लागि विज्ञापन दिनु र वेश्यालय चलाउनु।

यहाँको क्राउन प्रोसिक्युसन सर्भिस (सीपीएस) को भनाइमा उनीहरूको उद्देश्य यौनकर्मीहरूलाई दुख दिनु वा उनीहरूलाई सजाय दिनु होइन, बरु उनीहरूसँग जबर्जस्ती गर्नेहरू र उनीहरूको शोषण गर्नेहरूलाई सजाय दिलाउनु हो।

यौनकर्मीहरूले अपराधको उजुरी गर्दैनन् र यदि उनीहरूले गरे पनि उनीहरूलाई समर्थन मिल्दैन भन्ने भ्रमले यौनकर्मीमाथि अपराध हुने सीपीएसको धारणा छ।

'यौनकर्म हाम्रो लागि रोजगारी जस्तै हो'

जेसिका ब्रेनन नटिङ्घममा प्रस्टिच्युसन आउटरिच सर्भिस (पीओएस) चलाउँछिन्। उनी भन्छिन्, 'यौनकर्म गैरकानुनी होइन, तर यसलाई सामान्यतया अनैतिक मानिन्छ।'

यसै कारणले यौनकर्मीहरू आफू विरुद्ध भएका अपराधहरू रिपोर्ट नगर्ने गरेको उनको धारणा छ। यसबाहेक उनीहरूमा उल्टो आफैँलाई सजाय दिन्छन् भन्ने डर हुने गरेको उनले बताइन्।

प्रस्टिच्युसन आउटरिच सर्भिस १९९० देखि सडकमा काम गर्ने र अन्य त्यस्ता महिलाहरूसँग काम गरिरहेको छ। तर अपराधका केही घटनाहरूमा दोषीहरूलाई सजाय दिलाउन उनीहरूलाई कठिनाइको सामना गर्नु परेको छ।

जेसिका ब्रेनन भन्छिन्, 'एक हप्ता पनि यस्तो बित्दैन जब हामीले समर्थन गरिरहेका महिला र पुरुषहरूमाथि आक्रमण नहोस्। तर कुनै पनि मामला अदालतसम्म पुग्न सकेको छैन।'

उनी यौनकर्मलाई एक सामान्य र मेहनतको काम भनेर हेर्ने गरेको र ग्राहकहरूले आफ्नो कामको इमानदारीपूर्वक समीक्षा गरेर अनुभव भनुन् भन्ने चाहन्छिन्।

अलाना समाजले उनलाई एक मूल्यवान् कामदारको रूपमा हेरोस् भन्ने चाहन्छिन्। समाजले यौनकर्मीहरूसँग राम्रो व्यवहार गरोस् भन्ने उनको चाहना छ।

* यो बिबिसीबाट अनुवाद गरिएको फिचर हो। हेडलाइन भने बदलिएको छ।

जेठ २६, २०८१ शनिबार १३:५२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।