कांग्रेस ८४ सम्म प्रतिपक्षमा बस्ने महामन्त्री थापाको भनाइ, सुमनाप्रति ओलीले टिप्पणी स्त्रीद्वेषी

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस २०८४ सालसम्म प्रतिपक्षको भूमिकामा बस्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले नेतृत्व तहसँगको छलफलपछि २०८४ सालसम्म कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा बस्ने समझदारी कायम भएको बताए।
उनले भने, ‘परिस्थितिले हामीलाई प्रतिपक्षमा ल्याएको छ। केही दिनमा हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्छ र ०८४ सम्म शसक्त प्रतिपक्षमा बस्नेबारे औपचारिक निर्णय गर्छ। ०८४ सम्म सरकार बनाउन, गिराउन, कतै आँखा पनि लगाउँदैनौँ, हात पनि लम्क्याउँदैनौँ।’
उनले एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि महिला भएकै कारणले स्त्रीद्वेषी अभिव्यक्ति दिएको आरोप लगाए। उनले ओलीको अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणाले भरिएको अभिव्यक्तिलाई कांग्रेसले गलत हो भन्न सक्नुपर्ने बताए।
उनले भने, ‘पूर्वप्रधानमन्त्रीले, पार्टीको नेताले अर्को पार्टीको नेता, जो बहालवाला मन्त्री हुनुहुन्छ, उसको बारेमा मात्रै होइन, कुनै पनि नेपाली नागरिक र महिलाका बारेमा गरेको यो टिप्पणी गलत छ। कांग्रेसका आँखाले हेर्दैगर्दा गलत भन्न सक्नुपर्छ।’
उनले कांग्रेस संसदको ठूलो दल र संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको बताए।
जेठ २६, २०८१ शनिबार १३:०७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।