गृहमन्त्रीमा राजनीतिक नैतिकता देखिएन : नेता पौडेल

गृहमन्त्रीमा राजनीतिक नैतिकता देखिएन : नेता पौडेल

काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन भइसक्दा पनि सत्तामै बसिरहनु सान्दर्भिक नभएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि पदमा बसिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ जस्तै भएको भन्दै लामिछानेमा नैतिकता नदेखिएको उनको आरोप लगाए।

नैतिकता बोध नगरिने अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय रहेको बताए।

‘कांग्रेसले ७३ लाख जनता जोडिएको एउटा मुद्दालाई निर्णायक मोडमा पुर्या एको छ। कांग्रेसले यो मुद्दा उठाइसकेपछि बाध्य भएर कतिपय पार्टीहरू जोडिएको अवस्था हो। सत्तालाई सम्पूर्ण रुपमा दुरुपयोग मुद्दा उठ्न नदिन, गुपचुप राख्न, प्रमाण लुकाउन सम्पूर्ण रुपमा अहिलेको सत्तारुढ गठबन्धन लागेको स्थिति थियो,’ उनले अगाडि भने, ‘हामीले संसदीय समिति गठन गरेर जसमाथि छानबिन गर्न खोजिरहेका छौं उहाँले राजीनामा दिनुपर्दैन भनेर फकाउने काम भएको छ।’

उनले भने, ‘कोही नाङ्गै छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा हाम्रो केही लाग्दैन। त्यसैले संसदले छानबिन समिति गठन भयो, त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास एउटा गम्भीर प्रतिगामीकदम हो।’

उनले नेपाली राजनीतिमा जसलाई प्रश्न छ उनलाई छानविन गरिएको र तिनै व्यक्तिले सत्ता चलाउने खालको अभ्यास भइरहेको भन्दै त्यस्तो प्रबृत्ति कांग्रेसले अन्त्य गरेर छाड्ने जिकिर गरे।

जेठ २६, २०८१ शनिबार १२:३५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।