न्यूजिल्याण्डलाई हराउँदै अफगानिस्तान समूह सीको शीर्ष स्थानमा

न्यूजिल्याण्डलाई हराउँदै अफगानिस्तान समूह सीको शीर्ष स्थानमा

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार दोस्रो जित निकालेको छ। शनिबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गरेको हो।

अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १५.२ ओभरमा सबै विकेट गुमाए ७५ रनमा समेटियो। अफगानिस्तानले पहिलो पटक टी २० मा न्युजिल्याण्डलाई पराजित गरेको हो।

खराब सुरुआत गरेको न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक १८ रन बनाउँदा माट हेनरीले १२ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

न्युजिल्याण्डको पारी ध्वस्त बनाउन अफगानिस्तानका फाजलहक फारुकी र रासिद खानले चार-चार विकेट लिए।

गुयनाको प्रोभिडेन्समा खेल टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५९ रन बनायो।

अफगानिस्तानले उत्कृष्ट सुरुआत गर्दै पहिलो विकेटका लागि शतकीय साझेदारी गरेको थियो।

अफगानिस्तानका रमनुल्लाह गुर्वाज र इब्राहिम जर्दानले पहिलो विकेटका लागि १०३ रनको साझेदारी गर्दै खेललाई अघि बढाए।

गुर्वाजलाई साथ दिन अज्मतुल्लाह ओमरजाई आएका थिए। यी दुई खेलाडीले २४ रनको मात्रै साझेदारी गरे।

अज्मतुल्लाह १२ बलमा २२ रन बनाएर आउट भएका थिए। उनले दुई छक्का र एक चौका प्रहार गरे।

मोहम्मद नावी गोल्डेन डकआउट भएपछि अफगानिस्तानले १७.४ ओभरमा टिमको स्कोर १३६ रन हुँदा तेस्रो विकेट पतन भयो।

कप्तान रासिद खान ५ बलमा ६ रन बनाउँदै रन आउट भए। उनले एक चौका प्रहार गर। एक छेउमा टिकेका रमनुल्लाह गुर्वाज १९.२ औं ओभरमा आउट भएका थिए।

उनले ५६ बल फेस गर्दा पाँच छक्का र पाँच चौकाको मद्दतले ८० रनको शानदार पारी खेले। उनलाई ट्रेन्ट बोल्टले पभेलियन पठाएका थिए।

न्यूजिल्याण्डका माट हेनरी र ट्रेन्ट बोल्टले दुई दुई विकेट लिँदा लोकी फर्गुसनले एक विकेट हात पारे।

लगातार दोस्रो जितका साथ अफगानिस्तान समूह सीमा ४ अंक बनाउँदै शीर्ष स्थानमा छ। 

जेठ २६, २०८१ शनिबार ०९:१४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।