गण्डकीका मुख्यमन्त्रीले जेठ २८ मा विश्वासको मत लिने, तर कहाँबाट आउँछ ३१?
पोखरा : सर्वोच्च अदालतको परमादेशमा मुख्यमन्त्री बहाली भएका गण्डकीका सुरेन्द्रराज पाण्डेले जेठ २८ मा विश्वासको मत लिने भएका छन्।
गण्डकीमा एमालेको नेतृत्वमा बनेको सरकारमाथि संवैधानिक प्रश्न उठाउँदै पाण्डेले हालेको रिटमा सर्वोच्चले परमादेश दिएपछि संविधानको धारा १६८ (३) बमोजिम जेठ १६ मा पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
पाण्डे मुख्यमन्त्री नियुक्त भए पनि उनीसँग बहुमतका लागि आवश्यक मत भने छैन। बहुमतका लागि ३१ मत चाहिन्छ तर गण्डकीमा कांग्रेसको २७ मत छ। राप्रपाका २ सिट छ।
गण्डकीमा विश्वासको मतका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पत्र लेखिसकेका छन्। राजीव गुरुङ कहिले स्वतन्त्र त कहिले एकीकृत समाजवादीको सांसद बन्ने गरेका छन्।
केन्द्रमा सत्ता बदलिएसँगै पाण्डेले माओवादी केन्द्रका मन्त्रीहरू बर्खास्त गरेर स्वतन्त्र सांसदको हैसियतमा राजीवलाई मन्त्री बनाएका थिए। उनले स्वतन्त्र सांसदको हैसियतका लागि प्रदेश सभामा निवेदन पनि दिएका थिए। तर एमालेको नेतृत्वमा सरकार बन्ने भएपछि उनी त्यतै लागेर मन्त्री भएका थिए।
जेठ २५, २०८१ शुक्रबार १८:३८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।