पब्जीसहितको ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारमा

पब्जीसहितको ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारमा

काठमाडौँ : कर्णाली प्रदेशको सुर्खेतमा ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप हुने भएको छ। असारको दोस्रो साता प्रतियोगिता हुन लागेको हो।

ई–स्पोर्ट्स सङ्घ नेपालले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरे। राष्ट्रिय च्याम्पियनसिप असार १४ र १५ गते  हुने जानकारी दियो।

ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिपमा पब्जी मोबाइल, मोबाइल लिजेण्ड्स र ई–फुटबल गरी तीन विधाका खेललाई समावेश गरिएको आयोजकले जानकारी दिएका छन्।

पब्जी मोबाइलको छनोट अनलाइनमार्फत हुने र अन्तिम १६ को फाइनल राउन्ड भौतिक रूपमा गरिने जानकारी दिइएको छ।

मोबाइल लिजेण्डका सबै खेल अनलाइन र ई–फुटबलको प्रारम्भिक छनोट अनलाइन, सेमिफाइनल र फाइनल प्रतिस्पर्धा भौतिक रूपमा सञ्चालन गरिने सङ्घले जनाएको छ।

सङ्घका अध्यक्ष अञ्जन धमलाले नेपालमा बढ्दो लोकप्रियता, अन्तर्राष्ट्रिय सम्भावना र लगानीको प्रतिफलका हिसाबले तीन खेललाई प्राथमिकतामा राखेर राष्ट्रिय च्याम्पियनसिपमा समावेश गरिएको जानकारी दिए।

प्रतियोगितामा पुरस्कारको कुल राशि १२ लाख रुपैयाँ छ। प्राइज पुलको ७० प्रतिशत  पब्जी मोबाइलमा, २० प्रतिशत पुरस्कार एमएलबीबी र १० प्रतिशत पुरस्कार ई–फुटबलमा बाँडिनेछ।

तीन वटै खेल विधाका विजेताले आसन्न एसियन ई–स्पोर्ट्स च्याम्पियनसिपको नेपाल छनोटको फाइनल चरणमा स्थान सुरक्षित गर्ने बताइएको छ।

टिम दर्ता शुक्रवारबाटै खुल्ला गरिएको छ भने प्रतियोगितामा प्रदेश र क्लब गरी तीन सय बढी टिमले छनोट चरणबाट भाग लिने सङ्घले जनाएको छ।

संघको वेबसाइटमा गएर टिम दर्ता गर्न सकिने र भौतिक रूपमा समेत टिम दर्ताको सुविधा राखिएको सङ्घका सचिव आशिष दाहालले बताए।

अनलाइन छनोट असार ४ देखि १० गतेसम्म र भौतिक रूपमा अन्तिम चरणका खेल असार १४ र १५ गते सुर्खेतमा हुनेछ। प्रतियोगितामा १६ वर्षमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन्।

जेठ २५, २०८१ शुक्रबार १७:४४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।