राजदूतहरूमाथि राजनीति गर्दै प्रचण्ड सरकार

राजदूतहरूमाथि राजनीति गर्दै प्रचण्ड सरकार

काठमाडौँ : सरकार बदलिएपिच्छे राजदूत बदलिनु नौलो विषय रहेन नेपालका हकमा। तर राजदूत फिर्ता बोलाएर त्यही देशको भ्रममा प्रधानमन्त्री जाने नौलो घटना समेत घटाए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले।

उनी नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुने समारोहमा भाग लिन भारत जाँदैछन्। तर बिहीबार मन्त्रीपरिषद्को बैठक राखेर उनले भारतका लागि नेपाली राजदूतलाई नै फिर्ता बोलाउने निर्णय गरे।

सरकारले भारतसँगै अन्य ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो। भारतका हकमा आफ्नो भ्रमणपछि राजदूत फिर्ताको निर्णय गर्न सक्थे प्रधानमन्त्रीले। तर आफ्नो भारत भ्रमणकै बेलामा पारेर भारतमा रहेको नेपाली दूतावासलाई नेतृत्वहीन बनाएर भारत भ्रमणमा जाने निर्णय गरे उनले।

गत फागुन २१ मा नेपाली काँग्रेससँगको सत्ता सहकार्य तोडेर माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैँले नियुक्त गरेका राजदूतहरूलाई पनि नितान्त राजनीतिक पूर्वाग्रहका साथ फिर्ता गर्ने निर्णय गरे।

कांग्रेसको जोडबलमा प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २३ मा पोर्चुगलमा राजदूतावास राख्ने निर्णय गरेर राजदूतमा शनिल नेपालको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइको प्रक्रिया पुरा गरेर उनले २०८० माघ २४ मा मात्र नियुक्ति पाएका थिए।

सरकारले भारत, अमेरिका, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूत फिर्ता बोलाउने निर्णय गर्यो।

भारतमा डा. शङ्कर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन्। उनीहरूलाई २०७८ कात्तिक ११ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो।

साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन्। २०७८ चैत २४ देउवा नेतृत्वको सरकारले उनीहरूसहित ११ राजदूत सिफारिस गरेको थियो।

सँगै नियुक्त भएका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रसियाका लागि मिलन तुलाधरलाई भने फिर्ता बोलाइएको छैन। फिर्ता नबोलाइएका राजदूतहरू माओवादी केन्द्र निकट हुन्।

कतारका लागि नेपाली राजदूतमा डा. नरेशविक्रम ढकाल थिए। २०७९ जेठ २६ मा नियुक्त भएका उनलाई पनि फिर्ता बोलाइएको छ।

राजदूत फिर्ता बोलाउने परम्परागत निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माको भनाइ छ। ‘सत्ता परिवर्तन हुनासाथ र समीकरण फेरबदल हुनसाथ राजदूत फिर्ता बोलाउनु अनौठो होइन,’ शर्माले भनिन्।

जेठ २५, २०८१ शुक्रबार १७:३२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।