पार्टीविरुद्धका गतिविधि कमजोर पार्न पार्टी निकट सामाजिक अभियन्ताहरूलाई प्रचण्डको निर्देशन

पार्टीविरुद्धका गतिविधि कमजोर पार्न पार्टी निकट सामाजिक अभियन्ताहरूलाई प्रचण्डको निर्देशन

काठमाडौँ : प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीविरुद्धका गतिविधिहरूलाई कमजोर पार्न पार्टी निकट सामाजिक अभियन्ताहरूलाई निर्देशन दिएका छन्।

माओवादी केन्द्रको समाज कल्याण विभागद्वारा आयोजित ‘सामाजिक अभियन्ता भेला’ मा प्रचण्डले , पार्टीको पक्षमा जनमत निर्माण गर्न एवं निर्मित जनमतलाई पार्टीमा सङ्गठित र वैचारिकीकरणका निम्ति काम गर्न सामाजिक अभियन्ताहरूलाई निर्देशन दिएका हुन्।

'गैरसरकारी क्षेत्र विदेशी पुँजी परिचालन गर्ने आइएनजिओ र तिनीहरूमा नै आश्रित रहेर सञ्चालित एनजिओ मात्र होइनन्,' प्रचण्डले भने 'देशभित्र रहेको श्रमशक्ति र पुँजीलाई परिचालन गरी उत्पादन, उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सहकारिता र सामाजिक एवं सांस्कृतिक रूपान्तरणको नेतृत्व गर्ने क्षेत्र पनि हुन्।'

उनले देशको मूल नीति विदेशी सहायतामा मात्रै निर्भर हुने नभई आफ्नै पुँजी, जनशक्ति, सीप र प्रविधिको प्रयोग गर्ने सोच, नीति र कार्यक्रम हुनुपर्ने बताए।

विश्वव्यापीकरणको परिस्थितिमा गैरसरकारी संस्थाहरूलाई राज्यको प्राथमिकताका आधारमा नियमन, निर्देशन र परिचालन गर्ने नीति नै महत्त्वपूर्ण हुने बताउँदै उनले सबै तहको पार्टी कमिटीमा गैरसरकारी तथा सामाजिक सङ्घसंस्था विभाग गठन गर्नुपर्नेमा जोड दिए।

उनले पार्टीको छाता सङ्गठनका रूपमा केन्द्रमा राष्ट्रिय महासङ्घ गठन गर्ने, सबै वडाहरूमा सामुदायिक केन्द्र र क्लबहरू गठन गर्ने नीति पार्टीले लिनुपर्ने बताए।

जेठ २५, २०८१ शुक्रबार १४:०७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।