मधेसमा जसपाहिन सरकार, जनमतको राज सुरु

मधेसमा जसपाहिन सरकार, जनमतको राज सुरु

जनकपुरधाम : पार्टी विभाजनसँगै जनता समाजवादी पार्टी नेपाल केन्द्रबाट मात्र हैन प्रदेश सरकारबाट समेत बाहिरिन बाध्य भयो। शुक्रवार पहिलो पटक मधेस प्रदेशमा जसपाहिन सरकार बन्यो जसको नेतृत्व गरेका छन् जनमत पार्टीका सतिश सिंहले।

सिंह शुक्रवार बिहान मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए। शुक्रवार मध्याह्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिए अनि शुक्रवारै १४ सदस्यीय मन्त्रीपरिषद् पनि बनाए।

अन्तिमसम्म पनि जसपाले सरोज यादवको नेतृत्वमा रहेको सरकार जोगाउने प्रयास कायमै राखेको थियो। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले सघाएका पनि हुन्। तर एकीकृत समाजवादी सत्ता घटककै साथमा रहँदा यादवले विश्वासको मत पाउन सकेनन् र जसपाको सरकार ढल्यो।

सत्ताधारी दलहरूको समर्थनमा मधेसको नयाँ दल जनमत पार्टीले मधेस सरकारको नेतृत्व पायो। सिंहले शुक्रवारै सहयोगी घटक दलसहित १४ सदस्यीय मन्त्रिपरिषद् समेत गठन गरे।

मधेस सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमा सरोजकुमार यादव, शिक्षा तथा संस्कृतिमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्यामा  शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याणमा प्रमोद जयसवाल नियुक्त भएका छन्।

माओवादी केन्द्रबाट अर्थमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटनमा युवराज भट्टराई नियुक्त भए। एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी र बेची लुंगेली ऊर्जा तथा सिँचाइ मन्त्री भए।

नेपाल समाजवादी पार्टीबाट विमला अन्सारी तरुनम गृह सञ्चार र तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भइन्। मन्त्रिपरिषद्‌मा तीन जना राज्यमन्त्री नियुक्त भएका छन्।

जेठ २५, २०८१ शुक्रबार १३:३८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।