दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको परमादेश

दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको परमादेश

काठमाडौं : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ।

न्यायाधीशहरू डा. कुमार चुडाल र सारंगा सुवेदीको इजलासले काठमाडौं विश्वविद्यालय काभ्रे र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा परमादेश जारी गरेको हो। ०८० चैत १२ मा भएको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले यसै शैक्षिक शत्रदेखि एमबीबीएसको विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गर्न पाउने गरी सम्बन्धन दिन आदेश दिएको हो। 

झापाको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २०७७ असार २१ मा काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गरेका थिए। त्यसपछि प्रसाईंले २०७७ असोज ३० मा चिकित्सा शिक्षा आयोग र काठमाडौँ विश्वविद्यालयविरुद्ध फेरि अर्को रिट निवेदन हालेका थिए।

त्यस्तै, रिट निवेदनको प्रतिवादमा शशिविक्रम कार्कीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने माग गर्दै २०७८ भदौमा रिट हालेका थिए। ती सबै रिटको एकमुष्ट सुनुवाइ गरेर सर्वोच्चले आदेश दिएको हो।

फैसलामा भनिएको छ, '...राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ७ को उपनियम (१), (३) र (४) निवेदकका हकमा आकर्षित नहुने हुँदा निवेदक कलेजलाई १५ (पन्ध्र) दिनभित्र यसै शैक्षिक शत्रदेखि एमबीबीएसको विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गर्न पाउने गरी सम्बन्धन प्रदान गर्नू गराउनू भनी प्रत्यर्थीहरू काठमाडौं विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोग समेतका प्रत्यर्थीहरूका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ।' 

जेठ २४, २०८१ बिहीबार २१:०७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।