माधव र झलनाथकै उमेर ७० कटेपछि एकीकृत समाजवादीले हटायो उमेर हदबन्दी

माधव र झलनाथकै उमेर ७० कटेपछि एकीकृत समाजवादीले हटायो उमेर हदबन्दी

​​​​​​काठमाडौं : एकीकृत समाजवादीले १० औँ राष्ट्रिय महाधिवेशनमा उमेरको हदबन्दी हटाइएको छ।

महाधिवेशनमा कम्युनिष्ट पार्टी निर्माणमा योगदान गरेका पुराना र अनुभवी नेताहरूलाई नेतृत्वका लागि अवसर उपलब्ध गराउन उमेरको हदबन्दी हटाइएको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको उमेर नै ७० काटेको पाइएपछि उमेरको हदबन्दी हटाइएको हो। यसबाट नेपाल र खनालसहितका अग्रज नेताले विभिन्न पदमा प्रतिस्पर्धाका लागि उम्मेदवार बन्न पाउनेछन्। 

यसअघि पार्टीले ७० वर्षभन्दा माथि उमेर समूहका नेता तथा कार्यकर्तालाई कार्यकारी पदमा जान नपाइने व्यवस्था गरेको थियो।

पार्टीका तल्लो तहदेखि माथिल्लो तहका नेतालाई सम्बन्धित भूगोल तथा कार्यक्षेत्रबाट निर्वाचित हुनुपर्ने प्रावधान ल्याएको पार्टीले महाधिवेशनमा पेस गरिने चार वटा दस्ताबेज थप समृद्ध बनाउन सबै जिल्ला तथा मातहतका कमिटीमा छलफलका लागि पठाइएको अर्यालले बताए। महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक गरी चार दस्ताबेजमा सबै जिल्ला तहबाट थप सुझाव लिन पार्टी मातहतका कमिटीमा दस्ताबेजको मस्यौदा पठाइएको छ।

पार्टीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुँदैछ। 

जेठ २४, २०८१ बिहीबार १९:५७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।