कांग्रेस, एकीकृत समाजवादी र नेसपाका ११ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

कांग्रेस, एकीकृत समाजवादी र नेसपाका ११ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

​​​​​​काठमाडौं : सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

मन्त्री शर्माका अनुसार भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, शर्मिला पराजुली ढकाल स्पेन, राम राय डेनमार्क, अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्री, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाललाई फिर्ता बोलाइने भएको हो। 

यस्तै, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्राडा. ज्योति प्याकुरेल भण्डारी, नवराज सुवेदी साउदी, कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई पनि फिर्ता बोलाउने निर्णय सरकारले गरेको छ।

यी राजदूतहरू अघिल्लो कांग्रेससहितको सत्ता गठबन्धनका बेला नियुक्त भएका थिए। त्यसमा मलेसियाका डिल्लीराज पौडेल एकीकृत समाजवादी र साउदीका सुवेदी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको कोटाबाट नियुक्त भएका थिए। अन्य ९ देशका राजदूत भने कांग्रेसको कोटाबाट नियुक्त भएका हुन्। 

सत्ताको दलीय समीकरण फेरिएसँगै माओवादी, एमाले, रास्वपा र जसपा गठबन्धनले नयाँ नियुक्तिका लागि राजदूत फिर्ता बोलाउने भएको हो। 

जेठ २४, २०८१ बिहीबार १९:३३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।