मुद्रा कोषको विस्तारित कर्जा सुविधाको ५ अर्ब ५९ करोड उपलब्ध गराउने अर्थमन्त्रीको आग्रह
काठमाडौँ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोली र अर्थमन्त्री वर्षमान पुनको भेटमा नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने विषयमा छलफल भएको थियो।
कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो।
भेटमा आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई ईसीएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो।
जसमध्ये यसअघि नै तेस्रो किस्ता निकासा भइसकेको छ भने चौथो किस्ताबापत ५ अर्ब ५९ करोड (४२ मिलियन अमेरिकी डलर) उपलब्ध गराएको छैन।
विस्तारित कर्जा सुविधाको प्रत्येक किस्ता रकम निकासा गर्नुअघि कोषले यसअघिको प्रतिबद्धताको समीक्षा गर्ने गरेको छ। सोही समीक्षाका लागि कोषको मिसन नेपाल आएको हो।
भेटमा मन्त्री पुनले नेपालले आर्थिक स्थायित्व, सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेको बताएका थिए। नेपालको अर्थतन्त्र सुधार र आर्थिक स्थिरताका लागि आईएमएफले सहयोग गर्दै आएकामा उनले धन्यवाद दिएका थिए।
मन्त्री पुनसँगको भेटमा डा. किन्डाले आईएमएफ कार्यकारी बोर्डले विस्तारित ऋण सुविधाको समीक्षा पूरा हुने चरणमा रहेकाले बाँकी रकम छिट्टै निकासा हुने जानकारी दिएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
उनले नेपालले वित्त र मौद्रिक नीतिको सुधार तथा वित्तीय अनुशासन कायम गर्ने विषयमा राम्रो प्रगति गरेको भन्दै प्रशंसा गरेको पुन सचिवालयको दाबी छ।
आईएफएफले संरचनात्मक तथा नीतिगत सुधारका क्षेत्र तथा मध्य अवधिको भुक्तानी सन्तुलन, आन्तरिक राजस्व परिचालन, सार्वजनिक लगानी व्यवस्थापन र वित्तीय जोखिम घटाउन ईसीएफ फण्डमार्फत विभिन्न मुलुकलाई आर्थिक सहायता प्रदान गर्दै आएको बताएका थिए।
विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको उक्त रकम नेपालले बजेटरी सहायता शीर्षकमा राखेर खर्च गर्दै आएको छ।
जेठ २४, २०८१ बिहीबार १८:४३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।