‘समिट अफ द फ्युचर’  मा भाग लिन प्रधानमन्त्री प्रचण्डलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा

‘समिट अफ द फ्युचर’  मा भाग लिन प्रधानमन्त्री प्रचण्डलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेका छन्।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्री प्रचण्डलाई भेटेर महासचिव गुटेरेसको निमन्त्रणा पत्र हस्तान्तरण गरिन्।

भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेकोमा आभार व्यक्त गरेको उनको सचिवालयले जानकारी दिएको छ।

उनले राष्ट्रसङ्घले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक रहेको पनि बताएको सचिवालयले जानकारी दिएको छ।

राष्ट्रसङ्घका आवासीय प्रतिनिधि सिङ्गरले संयुक्त राष्ट्रसङ्घको विश्वशान्ति अभियानमा नेपालले महत्त्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय जलवायु परिवर्तनमा नेपालले निर्वाह गरेको भूमिकाका लागि नेपालले समिटमा भाग लिनुपर्ने बताएका थिए।

जलवायु परिवर्तन लगायतका समकालीन चुनौतीका साथै दिगो विकास लक्ष्य प्राप्ति लगायतका विषयमा छलफल गर्न संयुक्त राष्ट्रसङ्घको आयोजनामा आगामी सेप्टेम्बर २२ र २३ मा न्युयोर्कमा ‘समिट अफ द फ्युचर’ हुन लागेको हो।  

जेठ २४, २०८१ बिहीबार १८:३६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।