सरकारको आलोचना गर्न कांग्रेसले लियो बालेन र सन्दीपको सहारा

सरकारको आलोचना गर्न कांग्रेसले लियो बालेन र सन्दीपको सहारा

काठमाडौं : बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र क्रिकेटर सन्दीप लामिछानेको पक्षमा उभियो। बैठकको विशेष समय लिएर कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मेयर बालेनका पछिल्ला गतिविधिको पक्ष लिएका थिए भने क्रिकेटर सन्दीपलाई अमेरिकाले भिसा नदिएको विषयमा सरकारसँग प्रश्न गरे।

पछिल्लो केही समययता कांग्रेसले निरन्तर सरकारको आलोचना गरिरहेको छ। बिहीबारको संसदमा भने सरकारको आलोचना गर्न कांग्रेस बालेन र सन्दीपको विवादित विषयको पक्षमा उभियो। 

केही समयअघि मेयर शाहले गिरीबन्धु टी-स्टेटको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक संजालमार्फत प्रश्न सोधेका थिए। बालेन र एमालेको टकराब अहिले झन् बढेको छ। यतिबेला न्यूरोडको सडकको विषयमा बालेनसँग एमालेको टकराब थप बढेको हो।

महामन्त्री शर्माले मेयर शाहको समर्थनमा उभिदै भने, 'न्यूरोडमा नागरिकको सुविधाका लागि सडक पेटी बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए, ठीक गरेका थिए। उनलाई त्यहाँ काम गर्न दिनुपर्छ, संघले कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ।'

उनले बालेनसँग भिडेर बस्ने काम बन्द गर्न एमाले अध्यक्ष ओलीसँग अनुरोधसमेत गरे। 

'काठमाडौंको मेयरसँग भिड्न परे उपमेयरलाई भन्दा हुन्छ नि। त्यही तहमा रहेको पार्टीमा प्रतिनिधिलाई भन्नुपर्छ नि। मेयर साब शैली भएन, जेल बसेको नेताको आदर भएन भनेर,' उनले भने। 

त्यसपछि संसद् भवन बाहिर कुरा गर्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मेयर शाहको शैलीलाई कांग्रेसले समर्थन गर्नु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालामाथिको अपमान भएको बताएका थिए।  

त्यस्तै, महामन्त्री शर्माले विश्वकप खेल्न सन्दीपलाई पठाउने गरी भिसा मिलाउन सरकारले नसकेको भन्दै आपत्ति जनाए। 

'सम्मानित अदालतले निर्दोष सावित गरेपछि यस बेला सन्दीप लामिछाने हाम्रो प्रतिनिधित्व गरेर मैदानमा खेलेको हुनुपर्थ्यो,' उनले भने, 'उनको भिसाका लागि सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो, यसमा कमजोरी कहाँ किन भयो? खेलकुद, परराष्ट्र र समग्र सरकारको यसबारे ध्यानाकर्षण गराउँछौँ।' 

जेठ २४, २०८१ बिहीबार १८:३४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।