एफसी चितवनद्वारा फुटबल खेलका विभिन्न आयामबारे अन्तरक्रियाको आयोजना
भरतपुर : फुटबल क्लब एफसी चितवनले नेपालमा फुटबल खेलका विभिन्न आयामहरूबारे सरोकारवालाहरूबीच अन्तरक्रिया गराएको छ।
एफसी चितवनले भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभाहरूलाई हुर्काउने र दिगो भविष्यको निर्माणको पहलहरूका बारेमा भरतपुरमा छलफल आयोजना गरेको हो।
अन्तरक्रियामा ५ सय भन्दा बढी खेलाडीहरू, विद्यार्थीहरू र नेपाली फुटबलका सरोकारवालाहरू सहभागी भएको बताइएको छ।
छलफलमा फुटबल खेल तथा खेलाडीको विकासमा स्थानीय निकाय, सङ्घसंस्थाहरू, निजी संस्थाहरू र खेलाडीहरूको भूमिकाबारे विभिन्न दृष्टिकोणहरू प्रस्तुत भएका थिए। विभिन्न सरोकारवालाहरूबिच समन्वय, लगानीमैत्री वातावरण सिर्जना, लिग प्रणालीलाई पुनर्संरचना र नीति निर्माणमा खेलाडीहरूको आवाजलाई समावेश गर्ने जस्ता महत्त्वपूर्ण विषयहरू पनि छलफलमा उठेका थिए।
अन्तरक्रिया सँगसँगै खेलकुद विज्ञान, पोषण, शारीरिक तन्दुरुस्ती, खेलकुद मनोविज्ञान र चोटपटक रोकथाम जस्ता आवश्यक विषयहरूमा समेत विज्ञद्वारा प्रस्तुति गरिएको थियो। आधुनिक उपकरणहरू तथा प्रस्तुतिबाट विद्यार्थी खेलाडीहरू उत्साहित भएका थिए। यसलाई अबका प्रशिक्षण र विकासमा जोड्नु पर्न खेलाडीहरूको टिप्पणी आएको बताइएको छ।
अन्तरक्रियामा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज विक्रम नेम्बाङ, एफसी चितवनका अध्यक्ष सचिन ढकाल र खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाको सहभागिता रहेको थियो।
जेठ २४, २०८१ बिहीबार १७:०४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।