मधेश : लोसपाबाट गाउँपालिका अध्यक्ष हारेका सिंह, जनमतबाट मुख्यमन्त्री बन्दै

मधेश : लोसपाबाट गाउँपालिका अध्यक्ष हारेका सिंह, जनमतबाट मुख्यमन्त्री बन्दै

काठमाडौं : मधेश प्रदेशमा जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री बन्ने भएका छन्। जनमत पार्टीले सिंहलाई मुख्यमन्त्री पदमा अघि सार्ने निर्णय गरिसकेको छ।

मधेशका मुख्यमन्त्री रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सरोजकुमार यादवले विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका हुन्। त्यसपछि बन्ने नयाँ गठबन्धनमा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय भएको जनमतले जनाएको छ। 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका पूर्व अध्यक्ष रहेका सतिश सिंह गत स्थानीय निर्वाचनमा गाउँपालिकामा पराजित भएका थिए। त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर जनमतमा प्रवेश गरेका उनी सप्तरी २ ‘क’ बाट प्रदेश सभा सदस्य चुनिएका थिए। 

मधेशमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने सत्तारूढ दलबीच सहमति भइसकेको भने यसमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले सहयोग गर्ने भएका छन्। संघीय सरकारमा गठबन्धनमा सदस्य रहेको जनमतले यसकै राजनीतिक लाभ स्वरुप मधेश प्रदेशको नेतृत्व गर्ने अवसर पाईरहेको छ।

मधेश प्रदेशका संसदीय दलका नेता महेश यादव भए पनि जनमतले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। जनमतको बैठकमा यादवभन्दा पनि राजपूत समुदायबाट मुख्यमन्त्री बनाउनुपर्ने आवाज उठेपछि दलका नेता छोडेर सिंहलाई मुख्यमन्त्री बनाउन लागिएको बताइएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि भोलि शुक्रबार बिहान १० बजेसम्म दाबी पेश गर्न आह्वान गरेकी छन्। 

जेठ २४, २०८१ बिहीबार १५:११:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।