संसदमा शर्मा- गृहमन्त्री रविमाथि प्रश्न, महानगरको काममा हस्तक्षेप नगर्न आग्रह

संसदमा शर्मा- गृहमन्त्री रविमाथि प्रश्न, महानगरको काममा हस्तक्षेप नगर्न आग्रह
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टिस्टेटको जग्गा प्रकरणको विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई आरोप लगाएपछि प्रतिवाद गरेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूहरूले तथ्यसहित ओलीको आरोपको प्रतिवाद गरेको उनको जिकिर थियो।

उनले भने, ‘म गृहमन्त्रीलाई खोज्न चाहन्छु। सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको अध्यक्षले कांग्रेसले बेचेर ७० बिघाको कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ, त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्नको लागि गिरीबन्धुको फाइल खोल्न तपाईं तयार हुनुहुन्छ? उहाँ खोल्न होइन, बोल्न पनि सक्नुहुन्न। बोल्न सक्ने भए शिक्षामन्त्रीउपरको शब्द फिर्ता लिनुस् भन्न उहाँले सक्नुपर्थ्यो। नम्रतापूर्वक पनि भन्न सक्नुभएन।’

फरक प्रसङ्गमा सांसद शर्माले काठमाडौंको न्यूरोडमा सडकपेटी (फुटपाथ) बढाउन जरूरी रहेको भन्दै महानगरलाई काम गर्न दिनुपर्ने बताए।

उनले भने, ‘न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरूरी थियो, बालेनले जे गरेका थिए, ठिक गरेका थिए। उनलाई त्यहाँ काम गर्न दिनुपर्छ, संघले कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ।’

बालेनको प्रतिकारमा ओली र संघीय सांसद् योगेश भट्टराई उत्रिएकोमा आश्चर्य मान्दै नेता शर्माले  स्थानीय तहका नेतालाई भनेर सम्झाउनुपर्नेमा ओली आफैँ सुरिएको संज्ञा दिए।

जेठ २४, २०८१ बिहीबार १२:२७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।