सरकार र काठमाडौं महानगरपालिकाबीचको टकराव राम्रो होइन : सांसद केसी

सरकार र काठमाडौं महानगरपालिकाबीचको टकराव राम्रो होइन : सांसद केसी

काठमाडौं : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौं महानगरपालिकाबीचको टकराबले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै केसीले सरकार र महानगरपालिकाबीच देखिएको सडक भत्काउने र बनाउने ‘गाइजात्रा’ले सरकारमाथि नै गम्भीर प्रश्न उठेको बताएका हुन्।

समन्वय गरेर सरकारले आफ्नो दायित्व निभाउनुपर्नेमा दुई पक्षबीच भएको तिक्ततापूर्ण सम्बन्धले जनताको हित नगर्ने उनको भनाइ छ।

उनले भने, ‘हालै संघीय सरकार र महानगरपालिकाबीच देखिएको सडक भत्काउने र बनाउने गाइजात्राले सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ। तत्काल समन्वय होस्। सरकारी पक्षले अहंकार र झगडिया मानसिकता नबनाओस्। यसलाई समन्वय गरेर सरकारले आफ्नो दायित्व पूरा गरोस्।’

काठमाडौं महानगरपालिकाले काठमाडौंको न्यूरोड क्षेत्रमा फुटपाथ बढाउन लाग्दा संघीय सरकार अन्तर्गतको सडक विभागले रोकेपछि महानगरले सडक विभाग अगाडि धुलो फालिदिएका थिए।

त्यसपछि महानगरले भत्काएको न्यूरोडको सडकलाई सडक विभागले पुनः टालेको थियो।

जेठ २४, २०८१ बिहीबार १२:०८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।