टी२० विश्वकपमा पीएनजीलाई स्तब्ध पार्दै युगान्डा विजयी

टी२० विश्वकपमा पीएनजीलाई स्तब्ध पार्दै युगान्डा विजयी

काठमाडौं : आईसीसी टी२० विश्वकपमा युगान्डाले पपुवा न्यूगिनीलाई तीन विकेटले पराजित गरेको छ।

आईसीसी विश्वकपमा युगान्डाको यो पहिलो जित हो। उसले यसअघि कहिल्यै पनि पीएनजीलाई पराजित गर्न सकेको थिएन। पीएनजीमाथि पनि युगान्डाको यो पहिलो जित हो।

बिहीबार विहानको खेलमा ७८ रनको लक्ष्य पछ्याएको युगान्डाले ओभरमा विकेट गुमाएर लक्ष्य भेट्टाएको हो।

उसका लागि रियाजत अली शाहले ५६ बलमा सर्वाधिक ३३ रनको पारी खेले। त्यसबाहेक जुमा मियागीले १३ रन बनाए। पपुवा न्यूगिनीका बलरले बलिङमा अनुशासन कायम गर्न नसक्दा १५ रन वाइड दिएका थिए।

उसका लागि अली नाओ र नोरमान भानुवाले समान दुई-दुई विकेट लिँदा चाड सोपर र असद भालाले समान एक-एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको पीएनजीले १९.१ ओभरमा अलआउट हुँदै ७७ रन मात्र बनाउन सक्यो। उसका लागि हिरी हिरीले सर्वाधिक १५ रन बनाए।

त्यसबाहेक किप्लिन डोरिगा र लेगा साइकाले १२-१२ रनको इनिङ खेल्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

युगान्डाका अल्पेस रमजानी, कसमस क्यूटा, जुमा मियागी र फ्र्याङ्क नसुबुगाले समान दुई-दुई विकेट लिँदा ब्रायन मसाबाले एक विकेट लिए।

जेठ २४, २०८१ बिहीबार ०८:३२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।