आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारतको शानदार जित

आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारतको शानदार जित

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ। न्यूयोर्कको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको पहिलो खेलमा भारतले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा ९६ रनमा अलआउट भयो। उसका लागि ग्यारेथ डिलानी २६, जोस लिटिल १४, कुर्टिस क्यापेर १२ र लोरकान टकरले १० रन जोड्दा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

भारतका लागि हार्दिक पाण्ड्याले तीन, जसप्रित बुमराह र अर्शदीप सिंहले समान दुई-दुई विकेट लिँदा मोहम्मद सिराज र अक्षर पटेलले एक-एक विकेट लिए।

जवाफमा भारतीय टोलीले १२.२ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो। ऋषभ पन्तले १३औं ओभरमा ब्यारी म्याकार्थीलाई रिभर्स स्कूपमा छक्का प्रहार गरेर खेलको अन्त्य गरे।

भारतका लागि कप्तान रोहित शर्माले ५२ रन बनाए। तर, उनी चोटग्रस्त भएपछि रिटायर्ड भएर क्रिज बाहिर गएका थिए। उनको चोटको गम्भीरता अझै थाहा हुन सकेको छैन।

रिसव पन्त २६ बलमा ३६ रनसहित नटआउट रहँदा विराट कोहलीले पाँच बलमा १ रन मात्र बनाउन सके। सूर्यकुमार यादव ४ बलमा २ रन बनाएर आउट भए।

आयरल्याण्डका लागि बेन ह्वाइट र मार्क अडायरले समान एक-एक विकेट लिए। जितसँगै भारतीय टोली समूह ‘ए’ मा दुई अंक जोडेर शीर्ष स्थानमा पुगेको छ।

भारतको अर्को खेल जुन ९ मा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग हुनेछ।

जेठ २४, २०८१ बिहीबार ०७:३४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।