आफ्नो अभिनय हेरेर आफै दङ्ग दयाहाङ
काठमाडौँ : अभिनय कलाकारको कला मात्र हैन निर्देशकको क्षमता पनि हो। कलाकार अभिनय कलामा पोख्तहुँदा पनि निर्देशक गतिलो नपरे कलाकारको अभिनय क्षमता देखिन्न। छड्के-२ र फर्की फर्कीका अनमोल केसीको अभिनयले यही त देखायो।
अर्थात् अभिनय निर्देशकगुनाको फल पनि रैछ। हरेक फिल्ममा एकै खालको अभिनय रहेको आरोप खेप्दै आएका अभिनेता दयाहाङ राईको 'गाउँ आएको बाटो' ले पनि दर्शकलाई यस्तै अनुभव गराउन सक्छ।
फिल्म ‘गाउँ आएको बाटो’को प्रिमियरमा फुरुङ देखिएका दयाहाङ अनि अभिनयन कलामा प्रशंसा नै पाएका कलाकारको प्रतिक्रिया फिल्म निर्माण टिमका लागि उत्साहजनकै थियो।
‘राई माइला’को भूमिकाका छन् दयाहाङ। उनले गाउँले परिवेशको निम्न वर्गको पात्रको भूमिकामा अभिनय गरेका छन्। छोराको रहरका लागि बाबुले गर्ने सङ्घर्षमा आधारित फिल्मले विकास गाउँ पस्दा अवसर मात्र लिएर पस्दैन भन्ने देखाउने प्रयास गरेको छ।
दयाहाङको अभिनय मन परेर उपेन्द्र सुब्बा,निश्चल बस्नेत,स्वस्तिमा खड्का,मिरुना मगर,नाजिर हुसेन लगायत अधिकांशले उनको तारिफ गरे। उनीहरूले आफूले फिल्म हेरिसकेपछि बाल्यकाल सम्झिएको बताए। आफ्नो घरमा टिभी नहुँदा अर्काको घरमा हेर्न जाँदाको क्षणलाई अधिकांशले अनुभव गरेको सुनाए।
तारिफ सुनेर मक्ख परेका अभिनेता दयाहाङले आफूले गरेको भूमिका आफ्नै गाउँ ठाउँको कथा भएको बताए। अन्य फिल्ममा भन्दा फरक भूमिकामा अभिनय गर्न पाउँदा आफ्नो बाउ बाजेको याद आएको उनले बताए।
यही जेठ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गाउँ आएको बाटो’को प्रिमियरमा दयाका अलवा पशुपति राई र उनका छोरा प्रशन्न राईको चर्चा चलेको थियो। उनीहरूको तारिफमा अधिकांश कलाकारले समय खर्चिए।
जेठ २४, २०८१ बिहीबार ०६:५३:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।