मधेशमा ढल्यो जसपा नेपालको सरकार, जनमतको नेतृत्वमा सरकार बनाउन सत्तापक्षको तयारी

मधेशमा ढल्यो जसपा नेपालको सरकार, जनमतको नेतृत्वमा सरकार बनाउन सत्तापक्षको तयारी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ। बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ढलेको हो।

योसँगै मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन्।  उनले राखेको  विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ भने विपक्षमा ५३ मत पर्यो। जबकि सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो। 

बुधबार प्रदेशसभामा १०३ सांसद उपस्थित थिए। मुख्यमन्त्रीलाई उनको दल जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ। विपक्षमा एमाले, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादीले मतदान गरे।

यादवले यसअघि चारपटक विश्वासको मत लिइसकेका छन्। तर, पाँचौपटक विश्वासको मत लिने बेला सदनमै उनी मुख्यमन्त्री पद गुमाउनुपरेको छ।

योसँगै मधेशमा साढे ६ वर्षपछि जसपा नेपालको नेतृत्वको सरकार ढलेको छ। यसअघि ५ वर्ष जसपा नेपालका लालबाबु राउत मधेशको मुख्यमन्त्री थिए। त्यसपछि जसपा नेपालबाटै यादवले मधेश सरकारको नेतृत्व गरे। 

उनी नेतृत्वको सरकार ढले सँगै सत्ता साझेदार दलहरूले भने जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन तयारी थालेका छन्। सत्ता गठबन्धनले जनमतको नेतृत्वमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित अघि बढ्ने तयारी गरेको हो।

जेठ २३, २०८१ बुधबार २०:३२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।