'आदिवासी र जनजातिका मुद्दाहरू राजनीतिक रूपमा स्वीकृत नभएसम्म पछि परिरहन्छन्'

'आदिवासी र जनजातिका मुद्दाहरू राजनीतिक रूपमा स्वीकृत नभएसम्म पछि परिरहन्छन्'

काठमाडौं : उपसभामुख इन्दिरा राना मगरले आदिवासी र जनजातिका मुद्दाहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छिन्। 

काठमाडौंमा बुधबार आयोजित चौंथो आदिवासी जनजाति चलचित्र महोत्सव समारोहमा उनले आदिवासी जनजाति सम्बन्धी विधेयक मन्त्रालयसम्म मात्र पुगेको भन्दै सदनमा पुगेपछि आदिवासी र जनजातिका मुद्दाहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी हुन्। 

उनले भनिन्, ‘यहाँहरूले आदिवासी जनजाति सम्बन्धी विधेयकको कुरा गर्नुभयो। कहाँ पुग्यो भन्दा त्यही मन्त्रालयसम्म मात्र पुगेको छ। हाम्रा कयौं विधेयकहरू थाँती लागेर बसेका छन् । अब सदनसम्म कहिले पो आइपुग्ने। विधेयक संस्कृति पर्यटन मन्त्रालयमा होला, यहाँहरूले हुटहुटी गरेर त्यो विधेयकहरू सदनसम्म पुर्याउनुपर्यो म त्यहाँ छु। मैले पनि आदिवासी जनजातिका मुद्दाहरूलाई सम्बोधन गर्ने छु।’ 

उनले आदिवासी र जनजातिका मुद्दाहरूलाई जबसम्म राजनीतिक रुपमा स्वीकृति हुँदैन तबसम्म आदिवासी र जनजातिहरू अगाडि बढ्न नसक्ने बताइन्। आदिवासी जनजातिले गीतमा र संस्कृतिमा भुलिने मात्र नभई हरेक नेतृत्वमा सहभागी हुनुपर्ने उनको भनाइ छ। 

उनले भनिन्, ‘जबसम्म हाम्रो मुद्दाहरू र राजनीतिक रुपमा स्वीकृति हुँदैन। हामी पछि नै पर्न सक्छौं। आज हरेक आदिवासी जनजातिले गीतमा र संस्कृतिमा भुलिने मात्र होइन। आफ्ना बालबालिकालाई पढाइमा खर्च गर्ने भाषालाई घरमा नै सिकाएर संरक्षण गर्ने र हरेक नेतृत्वमा तपाईहरु जानुपर्छ।’  

जेठ २३, २०८१ बुधबार २०:१६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।