विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव, कांग्रेस र लोसपाले मत दिने

विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव, कांग्रेस र लोसपाले मत दिने

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन्। 

मुख्यमन्त्री यादवले यसअघि आफू अस्वस्थ भएको भन्दै २८ जेठमा विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र पठाएका थिए। तर, सभामुख रामचन्द्र मण्डलले संविधान अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने बुधबार नै अन्तिम दिन भएको भनेपछि उनी अहिले विश्वासको मत लिन प्रदेशसभा पुगेका छन्।

यसैबीच मुख्यमन्त्री यादवलाई उनको पार्टी जसपा नेपाल, नेपाली कांग्रेस र लोसपाले विश्वासको मत दिने भएका छन्।

कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक कुमारकान्त झाले जानकारी दिए। यस्तै, लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको बताए।

मधेश प्रदेश सभामा कांग्रेसको २२, जसपाको १९ र लोसपाको ८ सिट छ। तीन दलले विश्वासको मत दिए मात्र ४९ सांसद पुग्छ। जबकि मुख्यमन्त्रीले विश्वासको मत पाउन ५४ सांसद आवश्यक पर्छ। 

जेठ २३, २०८१ बुधबार १८:३३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।