एनसेल एपबाटै नासा सेक्युरिटिजका सेवाहरू लिन सकिने

एनसेल एपबाटै नासा सेक्युरिटिजका सेवाहरू लिन सकिने

काठमाडौं : एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकहरूका लागि नयाँ अवसर ल्याएको छ। यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरूले अब कतै जानुपर्ने झन्झटबाट मुक्त भई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवाहरू उपभोग गर्न सक्नेछन्।

यस सहकार्यका लागि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले सोमबार एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। नासा सेक्युरिटिज नेपालकै एक अग्रणी सेयर ब्रोकरेज फर्म हो।

समझदारीका अनुसार एनसेल एपबाट एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकहरूले नासामा डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट पाउन सक्छन्। पहिलो पटक डिम्याट खाता खोल्न १०० रूपैयाँ र मेरोसेयरमा दर्ता हुनका लागि ५० रूपैयाँ लाग्ने हुँदा कुल १५० रूपैयाँको काम ५५ प्रतिशत छुटले गर्दा ६७.५० मा नै गर्न सकिन्छ।

एनसेल एपको माध्यमबाट ग्राहकहरूले अनलाइनमार्फत आफ्नो पहिचान विवरण अद्यावधिक गर्ने, शेयर कारोबारका लागि अनलाइन ट्रेडिङ खाता खोल्ने, डिम्याट खाता खोल्ने, डिम्याट र मेरोसेयर नवीकरण गर्नेलगायत केही समस्या र जिज्ञासाहरू राख्न सक्ने कम्पनीले जनाएको छ। 

'हामी हाम्रा ग्राहकहरूलाई युज केसहरू अवसरको रुपमा प्रदान गरेर आर्थिक गतिविधिलाई बढाउँदै बजारलाई चलायमान बनाउन र डिजिटल नेपालको परिकल्पनालाई साकार पार्नका लागि योगदान पुर्याउन तत्पर छौं,' एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले भने। 

एनसेल एपका माध्यमबाट विदेशमा रहेका नेपालीले पनि १०० बढि देशमा उपलब्ध रोमिङ सेवाको प्रयोग गर्दै आफ्नो डिम्याट खाता खोलि सेयरमा लगानी गर्न सक्नेछन्। 

'नासा अब एनसेल एपमा, ५५ प्रतिशत छुट हरेक नयाँ खाता र नवीकरणमा' भन्ने नाराका साथ शुरु भएको यस सहकार्यबाट एनसेलका सिम कार्ड प्रयोगकर्ताहरूलाई अनलाइन सेयर कारोबारमा सहयोग पुग्ने नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालको भनाइ छ।  

जेठ २३, २०८१ बुधबार १६:४५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।