सेयर बजारमा ५.५८ अंकको गिरावट

सेयर बजारमा ५.५८ अंकको गिरावट

काठमाडौं : सेयर बजार परिसूचकसँगै कारोबार रकम घटेको छ। बुधबार नेप्से ५.५८ अंकले घट्दै २०७९.७१ विन्दुमा रह्यो। ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँमा किनबेच भएको छ। 

मंगलबार बजार ६.२२ अंकले बढ्दा परिसूचक नेप्से २०८५.३० को विन्दुमा थियो। ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँमा किनबेच भएको थियो। 

साताको चौथो दिन १५८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८३ कम्पनीको मात्रै बढेको छ। ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन छैन। 

बजारलाई ४.९२ प्रतिशतले बढेको म्युचुअल फण्डले थामेको छ। म्युचुअल फण्डसँगै लघुवित्त, उत्पादन तथा प्रशोधन र फाइनान्स उप-समूह बढेका छन्। लगानी उप-समूह स्थिर रहँदा वाणिज्य बैंक, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, व्यापार र अन्य उप-समूह घटेका छन्। 

घटेको बजारमा पनि भगवती हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ता फाइदामा रहे। मनकामना स्मार्ट लघुवित्त, माईखोला हाइड्रोपावर, विजय लघुवित्त, लक्ष्मी लघुवित्तलगायतका कम्पनीको सेयर मूल्य बढेको छ। 

सर्वाधिक कारोबार एनआरएन इन्फ्रस्ट्रक्चरको भएको छ। उक्त कम्पनीको १९ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

यस्तै, सीइडीबी हाइड्रोपावरको १८ करोड ४३ लाख, सानिमा माई हाइड्रोपावरको १६ करोड ९९ लाख, पोखरा फाइनान्सको १२ करोड ६ लाख र ग्लोबल आईएमई लघुवित्तको ८ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

सेयर मूल्य घट्नेमा अपर लोहोरेखोला हाइड्रोपावरका लगानीकर्ताले ५.५१ प्रतिशतले गुमाएका छन्। कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फण्ड, रसुवागढी हाइड्रोपावरका सेयर मूल्य घटेका छन्।

जेठ २३, २०८१ बुधबार १५:५७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।