'चुरे क्षेत्रको दोहन नरोके तराईमा पानीको हाहाकार हुनेछ'

'चुरे क्षेत्रको दोहन नरोके तराईमा पानीको हाहाकार हुनेछ'

काठमाडौं : वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले मानव दोहन र प्राकृतिक क्षयीकरणको मारमा परेको चुरे क्षेत्र विनाशलाई नरोके तराई सुख्खापन र पानीको हाहाकारको मारमा पर्ने भएकाले चुरे संरक्षण अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्। 

बुधबार ललितपुरमा विश्व वातावरण दिवसको अवसर पारेर आयोजित कार्यक्रममा मन्त्री साहले चुरे क्षेत्रमा जलवायु परिवर्तन र मानवीय दोहनले गर्दा निकै असर पुगिरहेको भन्दै तराईमा भविष्यमा हुने पानीको हाहाकारलाई जोगाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘जलवायु परिवर्तनको कारण मानवीय गतिविधि चुरे क्षेत्रमा बढ्दा चुरे क्षेत्र विनाशको चपेटामा परेको छ। प्राकृतिक रुपमा पनि क्षयीकरण भइरहेको चुरे क्षेत्र मानवीय गतिविधि र खानीजन्य पदार्थको उत्खननले तराईमा अब पानीको हाहाकार हुने अवस्था सिर्जना भएको छ। यस्तो अवस्थामा चुरे संरक्षण र जल पुनर्भरण कार्यक्रम ल्याउन जरुरी छ।’  

उनले वातावरण संरक्षणको सुनिश्चितता अत्यावश्यक भएकाले यसको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताए। 

उनले भने, ‘वातावरण संरक्षण हाम्रो साझा जिम्मेवारी हो। यो विषय केवल सरकार, गैरसरकारी संस्था वा सीमित व्यक्तिहरूको मात्र चासोको विषय होइन। वातावरण संरक्षण हाम्रो भविष्य र सन्ततिका लागि र सम्पूर्ण जीवजन्तु तथा वनस्पतिहरुको संरक्षणका लागि अत्यावश्यक छ।’

उनले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधतामा आएको ह्रास जस्ता विविध समस्याका कारण वातावरणमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै उनले यी समस्या समाधान गर्न सबैको एकता र सहकार्य अत्यावश्यक भएको बताए। 

जलवायु परिवर्तनको असरबाट नेपालमा हिमाल पग्लिँदै गइरहेको, नदीहरू सुक्न थालेको, वनमा डढेलो बढेको र त्यसले कृषिमा आधारित जनजीवन र जैविक विविधतामा गम्भीर असर पुर्याइरहेको भन्दै यसको सामना गर्न दिगो विकासका सिद्धान्तलाई आत्मसाथ गर्नु जरुरी भएको उनको तर्क छ।  

जेठ २३, २०८१ बुधबार १४:३०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।