काठमाडौं उपत्यकालाई ‘सांस्कृतिक शहर’ घोषणा गर्न सांसद परियारको प्रस्ताव

काठमाडौं उपत्यकालाई ‘सांस्कृतिक शहर’ घोषणा गर्न सांसद परियारको प्रस्ताव
फाइल तस्बिर

काठमाडौं : सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गर्नुपर्ने बताएका छन्।

बुधबार सरकारले प्रतिनिधि सभामा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा उनले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा विकास गर्न आवश्यक रहेको बताएका हुन्।

मुलुक आधुनिक विकासको ढाँचामा जाने हो भने शैक्षिक शहर, सांस्कृतिक शहर, आर्थिक शहरको रुपमा पनि घोषणा गरी सरकारले काम गर्नुपर्ने प्रमुख सचेतक परियारको भनाइ थियो।

उनले लामो संघर्षबाट प्राप्त राजनीतिक व्यवस्थामा सरकारले अर्थमा जोड दिएर काम गर्नुपर्ने बताए।

उनले भने, ‘बजेटमा संस्कृतिलाई सम्वर्द्धन गर्ने कुरा गरिएको छ। मलाई लाग्छ– सकिन्छ भने काठमाडौं, ललितपुर र भक्तपुरको यो उपत्यकाको तीन वटै सहरलाई अथवा काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रूपमा घोषणा गरौं र सांस्कृतिक सहरको रुपमा यसलाई विकास गरौँ।'

प्रमुख सचेतक परियारले सरकारले संघीयता कार्यान्वयनका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको पनि बताए।

जेठ २३, २०८१ बुधबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।