अमेरिकी राजदूतलाई बोलाएर स्पष्टिकरण सोध्न सांसद् शाहीको माग

अमेरिकी राजदूतलाई बोलाएर स्पष्टिकरण सोध्न सांसद् शाहीको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद् ज्ञानेन्द्र शाहीले सरकारले अमेरिकी राजदूतलाई बोलाएर स्पष्टिकरण सोध्न माग गरेका छन्।

बलात्कार अभियोगमा उच्च अदालतबाट सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेलाई आईसीसी टी२० विश्वकप खेल्नका लागि भिसा नदिएपछि सांसद शाहीले यस्तो माग गरेका हुन्।

उनले भने, ‘अदालतले सफाइ दिएको, क्यानले स्वीकृति दिएको, आईसीसीले स्वीकृति दिएको खेलाडीलाई आयोजक देशले भिसा किन दिएन? सरकारले त्यो देशको राजदूतलाई बोलाएर स्पष्टिकरण किन नलिएको? कि त सरकार डराएर खुट्टा कपाएको हो?’

लामिछानेले दोस्रो पटक भिसाको लागि आवेदन दिँदा समेत अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो। उसले भिसा नदिनुको वास्तविक कारण भने खुलाएको छैन।

बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि नेपाल क्रिकेट संघ क्यानले उनले निलम्बन तत्काल फकुवा गर्दै विश्वकप टोलीमा सहभागी गराउन आईसीसीसँग पहल गरेको थियो।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीले पठाएको पत्र सार्वजनिक गर्दै यस्तो अमेरिकाले भिसा दिन अस्वीकार गरेको बताएका थिए। सोही पत्र सार्वजनिक गर्ने क्रममा उनले सन्दीपलाई सुरुवाती १५ टिममै समावेश गरिएको समेत खुलासा गरेका थिए।

यद्यपि नेपालले मे १ तारिखमा सार्वजनिक गरेको १५ खेलाडीको सूचीमा सन्दीप लामिछानेको नाम समावेश थिएन।

जेठ २३, २०८१ बुधबार १२:१९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।