सुमनालाई ‘घुम्न आउँदा मन्त्री भएको’ भनेपछि बाेले शिशिर, ‘महिला उन्मुक्तिको राजनीतिक केका लागि गरेको?’

सुमनालाई ‘घुम्न आउँदा मन्त्री भएको’ भनेपछि बाेले शिशिर, ‘महिला उन्मुक्तिको राजनीतिक केका लागि गरेको?’
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले मन्त्री सुमना श्रेष्ठमाथि भएको सार्वजनिक टिप्पणीमाथि सदनमा आवाज उठाएका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा उनले विदेशमा उच्च शिक्षा हासिल गरी देश फर्किएर राजनीति गर्दा उनीमाथि भइरहेको किन भद्दा टिप्पणी किन भइरहेको छ भन्दै प्रश्न गरे।

उनले भने, ‘विदेशमा उच्च शिक्षा हासिल गरेकी एउटा महिला नेतृ १० वर्षअघि देश फर्किएर भूकम्पको बेला औषधि बोकेर गाउँ पुगिन्, नाकाबन्दीको बेला कारपुल खोलेर सडकमा हिँडिरहेको मानिसलाई यात्राको सुविधा प्रवाह गरिन्, उद्यममार्फत रोजगारी सिर्जना गरिन् र राजनीतिमा आइन्। आज मन्त्री भइन्।’

‘उनलाई भर्खर घुम्दा घुम्दै आएर मन्त्री बनेको छ भनेर भनिन्छ, कहिले लुगामा टिप्पणी गरिन्छ। कहिले समानुपातिक सांसद् भनेर होच्याउने प्रयास गरिन्छ यहि सभाहलभित्र त कहिले बन्द कोठाभित्र। लामो समयदेखि महिलाको उन्मुक्तिका लागि राजनीति हामीले केका लागि गरेको? सबै महिला पुरुष बराबर हो भनेर होइन र?’, खनालले अगाडि थपे।

सांसद् सुमना श्रेष्ठमाथि सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट नेपाल घुम्न आउँदा मन्त्री भएको भन्दै अत्यन्तै हलुका टिप्पणी गरेका थिए।

उता राप्रपा सांसद ज्ञानेन्द्र शाही लगायतका केही सांसदले उनले लगाएको कपडाको विषयमा टिप्पणी गरेका थिए।

जेठ २३, २०८१ बुधबार ११:५२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।