फुर्को झुण्ड्याएर कलाकार फुर्क्याउँदै फिल्मकर्मी, ‘लेडि टाइगर’ पूजा कि स्वस्तिमा?

फुर्को झुण्ड्याएर कलाकार फुर्क्याउँदै फिल्मकर्मी, ‘लेडि टाइगर’ पूजा कि स्वस्तिमा?

काठमाडौं : नेपालमा कुनै एक कलाकारले लगातार हिट फिल्म दिन सकेका छैनन्। हातमा गनिने एकाध फिल्मबाहेक उनीहरूका फिल्मले निर्माताको झोली भर्न सकेको देखिँदैन।

वर्षौंपछि एउटा फिल्म चलिहाल्यो भने पनि ती कलाकारको नामको अगाडि ‘मेगास्टार’, ‘सुपरस्टार’ लगायतका ट्याग भिडाउने प्रवृत्ति बड्दो छ। तर, एकाध बाहेक ट्याग भिरेकाहरूलाई लिएर फिल्म बनाउने निर्माताहरूको अवस्था बिजोग देखिन्छ।

त्यसरी विभिन्न उपमा पाएका कलाकारहरू फुर्किएर हो या अरु कुनै कारण, पतनको बाटोमा पुगिरहेका दृष्टान्त हामीसामू नै छ। कुनै समय अभिनेता राजेश हमाललाई ‘महानायक’को ट्याग भिराए। अहिले पनि केहि कलाकर्मीहरूलाई उनलाई महानायक नै भनेर सम्बोधन गर्छन्।

एक दशकअघि प्राविधिक संघले उनलाई ‘महानायक’को पगरी गुथाएका थिए। त्यहि उपाधिपछि नै हो हमाल करियर ओरालो लाग्न थालेको। भलै यसलाई संयोग मान्न सकिन्छ।

‘महानायक’ भनेर सम्बोधन गर्दा मख्ख पर्ने हमाल पाँच वर्ष यता कुनै फिल्ममा आबद्ध छैनन्। फिल्म ‘बागमती’, ‘मुखौटा’ र पछिल्लो अभिनित फिल्म ‘सकुन्तला’ले उनको करियरलाई भित्तामै पुर्यायो। तीनै फिल्म फ्लप भएपछि उनलाई निर्माताहरूले लिने आँट गरेका छैनन्।

आफू अभिनित फिल्मले लगातार दर्शक गुमाएपछि उनी अचेल सैलुन उद्घाटनदेखि विभिन्न कार्यक्रममा ‘राजेश हमाल जोक्स’ सुनाउँदै हिँड्छन्।

हमाल मात्रै होइन, अर्का अभिनेता निखिल उप्रेतीलाई पनि एक समय ‘एक्सन किङ्ग’ भनिन्थ्यो।  फिल्म ‘पिँजडा’मार्फत आफूलाई एक्सन अभिनेताका रूपमा उतारेका निखिलका पछिल्ला केहि फिल्म असफल छन्। उनी तत्काल अर्को फिल्म बनाउने तयारीमा छैनन्।

फिल्म यात्रालाई चटक्कै छोडेर उनी आजकल ध्यान र योगतिर लागेका छन्। सधैँ क्लिन सेभमा देखिने अभिनेता उप्रेती एकताका दाह्री पालेको लुक्समा टेलिभिजन अन्तरवार्तामा छाएका थिए।

करिश्मा मानन्धरलाई सदावहार नायिकाको उपाधि भिडाएका फिल्मकर्मीले उनलाई पनि हमालकै अवस्थामा पुर्याए। अहिले अभिनेता अनमोल केसी, प्रदीप खड्कालाई पनि फिल्मकर्मीले त्यहि बाटोमा डोहोर्याइरहेका छन्। अनमोललाई ‘मेगास्टार’ र प्रदीपलाई ‘सुपरस्टार’को लुन्द्रो भिडाइदिएका छन्। अनमोल र प्रदीप पनि त्यसमा रमाइरहेकै देखिन्छन्।

यहि क्रममा नेपाली फिल्ममा आफूलाई टिकाउन संघर्षरत अभिनेत्री पूजा शर्मा र स्वस्तिमा खड्कालाई पनि ‘लेडि टाइगर’ भन्न थालिएको छ।

गत बिहीबार फिल्म ‘दान्भी’को ट्रेलर हेरेपछि पूजा शर्मालाई ‘लेडी टाइगर’ भन्न थालिएको छ। पहिलो पटक एक्सन अवतारमा देखिएकी पूजालाई फिल्मकर्मी र केही सञ्चारकर्मीले ‘लेडी टाइगर’को रूपमा चर्चा गरेका हुन्।

उनी पनि नाममा फुर्को जोड्न पाउँदा मख्ख छिन्। सामाजिक सञ्जाल र युट्युबमा उनीनिकटका केही सञ्चारकर्मी र फिल्मकर्मीले उनलाई उचाल्न भ्याइसकेको देखिन्छ।

उता स्वस्तिमा खड्काका फ्यान र उनीनिकट फिल्मकर्मीले उनलाई चाहिँ ‘लेडी टाइगर’ भनेर सम्बोध गर्न थालेका छन्। पूजाको फिल्म ‘दान्भी’को ट्रेलर रिलिजकै समयमा स्वस्तिमा खड्का अभिनित फिल्म ‘बेहुली फ्रम मेघौली’को पोस्टर सार्वजनिक गरियो। जहाँ स्वस्तिमाले ट्याक्टर चलाउँदै गरेको देखिन्छ।

यो पोस्टरबाट केहीले स्वस्तिमालाई ‘लेडि टाइगर’ भनेर सामाजिक सञ्जालमा लेखेका छन्। फिल्म निर्माता तथा निर्देशक सन्तोष सेनले फिल्मको पोस्टर सामाजिक सञ्जालमा राख्दै ‘लेडि टाइगर’ भनेका छन्। जुन विषय अहिले फिल्म वृत्तमा चर्चामा छ।

उपाधि पाएपछि त्यसको गरिमा जोगाउन अनि आफूलाई लामो समयसम्म सो स्थानमा टिकाइरहन सजिलो छैन। यसलाई पुराना अभिनेताले कति बुझे उनीहरूनै जानुन् तर नयाँ कलाकारहरूले आफूलाई यस्ता बेतुककाे उपाधिबाट टाढै राख्दा जाति।

जेठ २३, २०८१ बुधबार ०९:४५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।